काठमाडौँ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार अन्तरिम बजेट भाषण पेश गरिन । जसमा गत वर्ष नै घोषणा भइसकेको भारत–मिडिल इस्ट–यूरोप इकोनोमिक करिडोर निर्माणको प्रसंग उठाइन । उनले यो भारतका लागि रणनीतिक र आर्थिक स्तरमा गेमचेञ्जर समेत हुने दाबी गरिन् ।
सीतारमणले भाषणमा करिडोर आगामी सयौँ वर्षसम्म ट्रेडका लागि आधार बन्ने समेत बताइन् । “यो करिडोरको सुरुआत भारतबाट भएको हो भन्ने विषय इतिहासमा लेखिनेछ”, उनले भनिन् ।
यो करिडोर भारतबाट सुरु भइ युनाइटेड अरब इमिरेट्स हुँदै साउदी अरब पुग्नेछ भने त्यहाँबाट इजरायल हुँदै यूरोपसम्म पुग्नेछ । यो यस मिडिल इस्ट, यूरोप र रसियासम्मको व्यापारका लागि निकै फाइदाजनक हुने देखिएको छ ।
हाल यो करिडोरमा भारत, साउदी अरब, इटली, अमेरिकासहित आठ देश सहभागी छन् । यो करिडोर पूरा हुनका लागि १० वर्ष लाग्ने अनुमान गरिएको छ । यो प्रोजेक्टको फाइदा इजराइल र जोर्डनलाई पनि हुनेछ । यो करिडोर ६ हजार किलोमिटर लामो हुनेछ भने तीन हजार पाँच सय किलोमिटर समुन्द्रमा पर्नेछ ।
करिडोर निर्माणपछि भारतबाट यूरोप सामान पठाउनका लागि ४० प्रतिशत समय बचत हुनेछ । अहिले भारतबाट यूरोप कार्गो पठाउँदा ३६ दिन लाग्छ भने करिडोरमार्फत पठाउँदा १४ दिन कम लाग्नेछ ।
यसअघि भारत र अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा काम गरिहरेको अवस्थामा मिडिल इस्टमा पनि काम गरेका छन् । यसलाई चीनको बीआरआईको विरुद्ध आएको परियोजनाका रुपमा पनि लिइएको छ ।
यो करिडोरका विषयमा केही महिना अघि भारतमा सम्पन्न जी–२० को बैठकमा यो परियोजना निर्माण गर्ने विषयमा सहमति भएको थियो । यसबाट आयात निर्यातमा ठूलो सहयोग पुग्नेछ ।
यो करिडोर निर्माणका लागि तीन बिलियन डलरदेखि आठ बिलियन डलर खर्च हुने जनाइएको छ । यो करिडोर वैश्विक व्यापारका लागि हुनेछ र यसमा रेलवे, समुन्द्रीमार्ग र सडकमार्गको प्रयोग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्