Skip to content
Prabhu

डीडीसीमा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्कियो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ ।

डीडीसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दूध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा  समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीमा ठूलो मात्रामा पाउडर दूध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए।

‘हामीले मासिक ४२ लाख लिटर दूध विभिन्न किसानमार्फत खरिद गर्छौं तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,’ उनले भने ।

दैनिक ५० हजार लिटर दूधको मख्खन र पाउडर दूध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ । डीडीसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ । 

डीडीसीमा हाल  सवा एक अर्ब रुपैयाँ बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा ९ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात रहेको छ ।

संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पुर्याउँदै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् ।

डीडीसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं (फ्याट) र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दूधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ । संस्थानले यसरी खरिद गरिएको दूध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम एक सय २४ रुपैयाँ सम्म बिक्री गर्दै आएको छ  

डीडीसीले दही प्रतिलिटर एक सय ५० रुपैयाँ र घिउ  वितरकलाई प्रतिकिलो १ हजार ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal