Skip to content
Prabhu

धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा

सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो ।

 ३३ करोड ७० लाख ४७ हजार ३ सय ३७ रुपैयाँ लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले  २३ करोड १५ लाख तीन हजार दुई सय ७७ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । 

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारको काम भइरहेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाअन्तर्गत बेसमेन्ट पार्किङसहितको तीनतले टर्मिनल भवन बनिसकेको उपप्रमुख बेघाले बताए । उनका अनुसार बसपार्क सञ्चालन हुन थालेपछि एकैपटक ३७ बस र २६ जिपको क्षमता रहेको छ ।

उक्त भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जिप राख्न सकिन्छ भने विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनियर सरोजकुमार यादवले बताए । उनका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ वटा अटो रहने छन् ।

भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा रहेका छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको भन्दै अहिले फिनिसिङको काम धमाधम भइरहेको ठेकेदार सपनकुमार दासले बताए । तीन महिनाभित्र सम्र्पूण काम सकेर भवन हस्तान्तरण गरिने योजना रहेको उहाँले जानकारी दिए ।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भएको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक भवन निर्माण थालेको उपप्रमुख बेघाले बताए । ‘बसपार्कको अनुगमन गर्दा धेरै काम सम्पन्न भइसकेको भेटेका छौँ । अहिले अन्तिम चरणका काम भइरहेका छन्’, उनले भने, ‘चाँडै यहाँको बसपार्कसम्बन्धी विद्यमान समस्या समाधान हुनेछ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal