व्यवसायिक घराना शौरभ ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विष्णु न्यौपानेले पहिलो पटक आफ्नो कम्पनी सर्वोत्तम सिमेन्टको सेयर बुक बिल्डिङबाट ल्याउन सफल भए । शौरभ ग्रुप अन्तर्गत निर्माण क्षेत्र र धागोसँग सम्बन्धित ठूला उद्योग सञ्चालनमा छन् । न्यौपानेसँग कम्पनीको योजना र नेपालको लगानीका विषयमा लगानीन्यूजका लागि आशीष ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश ।
बहुचर्चित मानिएको सर्वोत्तम सिमेन्टको आइपीओ बुक बिल्डिङ प्रणालीबाट आयो । अब सौरभ ग्रुपको रणनीति के हुन्छ ? अरु भेञ्चरहरुको योजना के छ ?
सर्वोत्तम सिमेन्टको जारी अहिलेको आइपीओबाट उठेको रकमले हाम्रो सम्पूर्ण ऋण चुक्ता भएर पनि हामीसँग पैसा बच्छ । बचेको पैसा झापामा ग्रान्डिङ युनिटमा जान्छ । साथै केही रकमबाट पश्चिममा पनि एउटा ग्रान्डिङ युनिट खरिद गर्ने योजना बनाएका छौँ । यी कम्पनी सर्वोत्तम सिमेन्ट अन्तर्गत कै कम्पनी हुनेछन् । हामीसँग क्लिङकर त जति पनि छ । त्यसैको उपयोग गर्छौ । भारतमा पनि अल्ट्रा टेक सिमेन्टले पनि चुनढुंगा नजिकै क्लिङकर फ्याक्ट्री बनाउँछ भने बाँकी स्थानमा ग्रान्डिङ उद्योग स्थापना गरेको हुन्छ । त्यस्तै झैँ हामीले पनि विभिन्न स्थानमा ग्रान्डिङ युनिट स्थापना गर्ने योजना बनाएका छौँ । त्यसबाहेक थप क्लिङकर उत्पादनका लागि हामीले धादिङमा खानी लिएका थियौँ । धादिङमा भएको खानीबारे पनि अध्ययन भइरहेको छ ।
बुक बिल्डिङमार्फत आइपिओ जारी गर्ने पहिलो कम्पनी त बन्नुभयो । यो बुझाउनका लागि कति गाह्रो भयो ?
बुक बिल्डिङबारे बुझाउन त गाह्रो भएको होइन । तर उहाँहरुले नीति नै बनाउनुभएन । त्यसको नियमावली नै राम्रोसँग बनेन वा तयार नै भएन । जसले बनायो उसले काम गर्न पाएन र नयाँ आएका पनि परम्परागतरुपमै जान खोजेको देखियो । यो त विश्वमा आएको सबैभन्दा राम्रो विधि पो हो त । यही राम्रो विधि भएकै कारणले हाम्रो १० लाख कित्ता शेयर बिक्री भएको हो । फेरि यसको लकिङ पिरियड पनि छैन भने १० प्रतिशत कम मूल्यमा पनि पाएको हुनाले पनि यसलाई सहज भएको हो ।
आइपीओमा बीचमा विवाद पनि देखियो । कसरी सहज रुपमा ल्याउन सफल हुनुभयो ?
विवादका कारणले प्रक्रिया रोकिएको होइन । मेरो कम्पनीमा आएको विवादका कारणले ढिला पाएको हो भने त हामीभन्दा पहिले रियालन्स स्पिनिङ मिलले सुरुमा पाउनु पर्ने हो नि । तर उहाँहरुले धेरै पछि पाउनु भयो । हामीले त सँगै आवेदन दिएको हो ।
सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गरिसकेपछि पुँजी बजारमा के परिवर्तन ल्याउँछ भन्ने लाग्छ ?
अहिले त लक्ष्मी स्टील्स र जगदम्बा स्पिनिङको आइपीओ बुक बिल्डिङ विधिमार्फत नै ल्याउँछौँ । अब आम लगानीकर्तालाई पनि यो विधिमाथि विश्वास बढेको छ । संस्थागत लगानीकर्तालाई पनि अब आत्मविश्वास बढेको छ । हामीले पुँजी बजारका सम्बन्धमा प्रिमियमभन्दा बुक बिल्डिङ विधि राम्रो हो भनेर बुझाउन सकेका थिएनौँ । अब त्यो समस्या छैन । हामीलाई सहज भएको छ । यसले जनता पनि ठगिने अवस्था हुँदैन । किनभने यसका लागि विभिन्न मापदण्डहरु छन् । जसले गर्दा सबैलाई बुझ्न पनि सजिलो हुन्छ ।
तपाईंहरुको जुन प्रक्षेपित ब्यालेन्स त्यो आगामी दिन सोहीअनुसार आउँछ कि कस्तो आउँछ ?
आजका दिनमा भन्दा राम्रो ब्यालेन्स सिट आउँछ । गत वर्ष हाम्रो पाँच अर्ब ५० करोड रुपैयाँको बिक्री थियो भने यो वर्ष कम्तीमा सात अर्ब ५० करोड रुपैयाँको बिक्री हुन्छ भन्ने हो । झण्डै २५ प्रतिशत बराबरको बिक्री बढी छ । आजका दिनमा त निर्यात पनि सुरु भएको छ । दोस्रो विषय जनताले पनि विश्वास गरेको अवस्था छ । एउटा कम्पनीप्रतिको विश्वास र अर्को कुनै पनि कम्पनीको आइपीओ नआएकाले पनि धेरै आवेदन परेको हो भन्न सकिन्छ । जनताले बचत गरेको राखेको पैसा लगानी गर्ने मौका पनि पाएका हुन् । सुरुमा हामीले प्रतिकित्ता ७५० रुपैयाँ आउँछ भन्ने थियो तर अहिले तीन सय ६० रुपैयाँ ९० पैसा कायम भएको छ । तर हामीले योभन्दा धेरै राम्रो मूल्य पाउँछ भन्ने लागेको थियो । हामी मज्जाले यो वर्ष नाफामा जान्छौँ ।
पछिल्लो समय निर्माणसँग सम्बन्धित क्षेत्रमा माग कम छ किन त्यस्तो भएको हो ?
निर्माण क्षेत्रमा माग घट्नुको कारण ३० देखि ३५ प्रतिशत सिमेन्ट र डण्डीको खपत सरकारी, अर्धसरकारी, जलविद्युत्लगायतका प्रोजेक्टमा हुन्थ्यो । त्यो अहिले निकै कम भएको छ । सरकारले पनि काम गर्न सकेको छैन । निजी क्षेत्रको लगानी पनि कम भएको छ । स्रोत निश्चित भएका आयोजनामा मात्रै काम भएको छ भने अन्य काममा काम हुन सकेको छैन । त्यसबाहेक आम जनतामा पनि आयस्रोत कम भएको, विश्वास कम भएकाले पनि खर्च कम भएको देखिन्छ । सर्वोत्तम सिमेन्टको बिक्री बढ्नुमा निर्यात पनि हो भने झापाको उत्पादन बिक्री थपिएकाले पनि बिक्रीबाट हुने आम्दानी बढेको हो । त्यसबाहेक ब्राण्ड भ्यालु पनि बढेको छ । यसले पनि उपभोक्तामा विश्वास बढेकाले पनि हाम्रो सिमेन्टको आम्दानी बढेको हो । हाम्रो बढे पनि समग्रमा भने बिक्री घटेको छ ।
तपाईं देशको ठूलो औद्योगिक घरनामा पर्नुहुन्छ । अहिलेको अर्थतन्त्रको अवस्थाबाट सकारात्मकतर्फ जान के बढाउनुपर्छ जस्तो लाग्छ ?
अर्थतन्त्रमा सकारात्मक पक्षहरु पनि छन् । आजका दिनमा एक बिलियन डलरभन्दा बढी रेमिट्यान्स आइरहेको छ । नेपाल राष्ट्र बैंकले नै कूल रेमिट्यान्सको ६० प्रतिशत उपभोग र ४० प्रतिशत बचतमा जान्छ भन्छ । त्यो भनेको करिब ५० अर्ब जति त अर्थतन्त्रमै जाने हो नि । यो आउने वित्तिकै ब्याजदर घट्न सुरु हुन्छ । ब्याजदर घट्ने वित्तिकै माग बढ्न थाल्छ । कर्जा प्रवाह पनि बढ्छ । अहिले ब्याजदरका कारण घर नबनाउने उपभोक्ताहरु सस्तो ब्याजदरमा कर्जा पाएपछि बनाउन थाल्छन् । अर्को विषय विद्युत् उत्पादन पनि बढेको छ भने खपत पनि बढ्न थालेको छ । अहिले गर्मीमा केही पुग्दैन तर अर्को वर्ष पनि विद्युत् आपूर्तिमा समस्या हुँदैन । त्यसबाहेक स्टील्स र सिमेन्ट निर्यात सुरुभइसकेको छ । भारतमा भन्दा हाम्रो कस्ट अफ प्रडक्सन घटिरहेको छ । त्यसको फाइदा नेपाली कम्पनीलाई हुन्छ । अहिले निर्यात सुरु गरेको एक वर्ष मात्रै भएको छ । अब बिस्तारै भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्न थाल्छ । अहिलो सर्वोत्तमले मासिक एक लाखदेखि एक लााख २५ हजार बोरासम्म सिमेन्ट भारतीय बजारमा बिक्री गरिरहेका छौ भने आगामी दिनमा मासिक चार लाख बोरा हुने वित्तिकै धेरे फरक पर्छ । सरकारले पनि केही काम गरिरहेको छ । सरकारले पनि निर्माण क्षेत्रमा लगानी गर्न सक्यो भने अर्थतन्त्रमा सकारात्मक असर पर्छ भने माग बढ्न सिर्जना हुन्छ । त्यसबाहेक भारत र बंगलादेशमा विद्युत् निर्यातका लागि सहमति भएसँगै लगानी पनि बढेको छ । यसले पनि अर्थतन्त्रका लागि राम्रो हुने देखिएको छ । जलविद्युत् आयोजना निर्माण हुन थालेपछि सिमेन्टको प्रयोग त ह्वात्तै बढ्ने नै भयो ।
प्रतिक्रिया दिनुहोस्