Skip to content
Prabhu

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छः प्रधानमन्त्री

nabil

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौं सभालाई आज पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए ।

‘चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने सरकारको अपेक्षा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाइनेछ ।’

भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा तथा समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागि अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

अर्थतन्त्रमा विद्यमान दबाब र स्रोत विनियोजनमा देखिएको सङ्कुचनबीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारलाई प्राथमिकता दिएको उनको भनाइ छ । प्रतिष्ठान चिकित्सा शिक्षातर्फ देशकै लागि उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्दै यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई सफल पार्नुपर्नेमा जोड दिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal