तनहुं । गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको आठ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्रे गरिएको हो । बाँकी तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिए ।
नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । ‘पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्रे गरी दोस्रो चरणको काम अघि बढाइएको छ’, इञ्जिनियर मिश्रले भने, ‘बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजनाअनुरुप काम भइरहेको छ ।’
उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिरदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो । ३५ करोड १४ लाख रुपैयाँको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख रुपैयाँमा सडक कालोपत्रेको ठेक्का पाएको थियो ।
कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्