Skip to content
Prabhu

बंगलादेशमा पर्यटन प्रबर्द्धन गर्न गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि बंगलादेश गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल आज आइतबार स्वदेश फर्केको छ ।होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको १८ सदस्यीय उक्त प्रतिनिधिमण्डलले बंगलादेशमा रहँदा सयभन्दा बढी ट्राभल, टूर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा नेपालको प्रचारप्रसार गरेको थियो ।
होटल संघ नेपाल, नेपाल पर्यटन बोर्ड तथा नेपाली दूतावास बंगलादेशको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपालमा बढ्दै गएको बंगलादेशी पर्यटकहरुको संख्या बढाउन तथा बंगाली पर्यटकहरुलाई स्तरीय सेवा सुविधा प्रदान गर्ने उपायहरुबारे व्यापक छलफल भएको थियो ।

समारोहमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले दुई छिमेकी मुलुकबीच पर्यटन प्रवद्र्धनको व्यापक सम्भावना भएको सो कार्यक्रम फलदायी तथा समसामयिक रहेको बताएका थिए।
समारोहमा स्वागत मन्तव्य दिँदै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बंगलादेशी पर्यटकहरु बिदा मनाउनका साथै कर्पोरेट गतिविधि, माइस, डेस्टिनेसन वेडिङ, हनिमुन टूरको माग बढ्दै गएको हुँदा खासगरी यी विषयमा जानकारी तथा प्याकेज सार्वजनिक गर्न सो कार्यक्रम फलदायी रहेको बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले उपयुक्त पर्यटन गन्तव्यको रुपमा बंगलादेशीहरुलाई नेपालमा रहेको आकर्षण तथा पर्यटकीय गतिविधिहरुबारे सचित्र विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
सोही कार्यक्रममा बंगलादेशी पर्यटन व्यवसायी तथा सरकारको तर्फबाट बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक साइफुल हसनले नेपालमा भएको पर्यटन विकासबाट अभिप्रेरित रही आपसी सहकार्य बढाउँदै जाने बताए । कार्यक्रममा बंगलादेशका सगरमाथा सफल आरोही निशात मजुमदार र बबर अलिलाई अभिनन्दन गर्नुका अतिरिक्त त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
दुई देशबीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यहरुलाई निरन्तर रुपमा सहकार्य गर्ने उद्देश्यले सोही कार्यक्रममा होटल संघ नेपालले बंगलादेशका पर्यटन विकाससँग सम्बन्धित छुट्टाछुट्टै ५ छाता संगठनहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal