काठमाडौं । नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको अध्यक्षमा शुभम भट्टराइ चयन भएका छन् । २० औँ वार्षिक साधारण सभाबाट आगामी एक वर्षको कार्यकालका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
गत शुक्रवार सम्पन्न साधारण सभाबाट मंचको प्रथम उपाध्यक्षमा संजिव सिक्देल द्धितीय उपाध्यक्षमा रोमन कट्टेल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा संयम श्रेष्ठ चयन भएका छन् । रितेष खनाल कार्यक्रम संयोजक, उकृष्ट भट्टराई लर्निङ सेसन संयोजक चयन भएका छन । त्यसैगरी आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया संचार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार, नबिन झुनझुनवाला कार्यसमिति सदस्य र संगिता धमला सचिवालय प्रमुखमा चयन भएकी हुन ।
कार्यक्रममा कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण, आर्थिक विकास एवं स्थायीत्वका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले औद्योगिक विकासका सन्दर्भमा युवाहरुले रचनात्मक सोचका साथ प्रारम्भ गरेको ब्यापार व्यवसायले विश्व बजारमा एकाधिपत्य कायम गर्न सफल भएको उदाहरण दिदै युवाहरु देश विकासको मेरुदण्ड भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले युवाहरुको सीपलाई व्यवसायमा रुपान्तरण गरी प्रदेशलाई उद्यमशिल मैत्री बनाउन सरकारले स्टार्टअप, युवा, महिला तथा भिन्न क्षमता भएका व्यक्तिहरुको उद्यमशिलता प्रवद्र्धन गर्ने नीति लिएर अघि वढेको बताउदै प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।
नेपाली युवा उद्यमी मंच विराटनगरका नबनिर्वाचित अध्यक्ष शुभम भट्टराईले युवाहरु परिवर्तनका सम्बाहक भएकाले आर्थिका समृद्धि र औद्योगीक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । उनले प्रविधिको बढ्दो विकास र यससंग सम्बन्धित स्टार्टअपहरुमा युवाले पुर्याएको योगदानलाई मध्यनजर गरी कुनैपनि अवसरबाट यस वर्गलाई बञ्चित नगर्न अनुरोध गरे ।
वित्तीय व्यवस्थापनको अभाव र नीतिगत जटिलता युवा उद्यमशिलता विकासका लागि बाधक भएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले त्यसलाई सहज बनाइ युवाहरुलाई उद्यमशिलता विकास तर्फ अग्रसर हुन अभिप्रेरित गर्नुपर्ने बताए । नेपाली युवा उद्यमी मंच विराटनगरका निवर्तमान अध्यक्ष रंजित भगतले नबनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा मंचले उद्यमशिलता विकासका सन्दर्भमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली युवा उद्यमी मंचका राष्ट्रिय अध्यक्ष शाहरा जोशीले सन् २००३ मा स्थापित मंचको हाल ११ वटा च्याप्टरमा एक हजार भन्दा वढी युवा उद्यमी आवद्ध रहेको बताउँदै आगामी दिनमा अन्य शहरहरुमा समेत विस्तार गरी युवा लक्षित कार्यक्रम गर्दै लैजाने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेलले नबनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्