Skip to content
Prabhu

मकै र कोदो खेतीको विकल्पमा किबी खेती

nabil

म्याग्दी । किबी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुन्थे । विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेतीसम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।

‘दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्तमार्फत बेलायत जाने भिसा पनि लागेको थियो,’ उनले भने, ‘बेलायतको राहदानी त्यागेर सुुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’

सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किबीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो रु. दुई सय ५० का दरले १० क्विन्टल किवी बेचेका पुन यसपालि राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन्। किबी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमतीबाहेक तीन जनालाई रोजगारी दिएका छन् । बाख्रापालन पनि सहायक पेशाको रुपमा रहेको छ ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालयमार्फत प्राबिधिक तालिम, निशूल्क र अनुदानमा किबीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जनाभन्दा बढीले व्यवसायिक किबी खेती गरेका छन् ।

‘हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रबर्द्धनमा जोड दिएका छौ,’ उनले भने, ‘किवी र सुन्तला खेती गरेका मध्य धेरैजसो विदेशबाट फर्किएका युवाहरु छन् । व्यावसायिक कृषिमा आबद्ध गराएर युवाहरुलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौं ।’

पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्र्याएका थिए । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती विस्तार गरेका छन् । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ ।

समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेति गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताए । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।

अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किबी चिनमा विकास भएको फलफूल हो । न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ ।

सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ । निजी नर्सरीबाट ३ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

प्रति आठवटा पोथी बिरुवा बराबर एकवटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ सम्म किबीका बिरुवा लगाउन सकिन्छ ।

फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौती हो । किबीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal