काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा प्रदेशगत रुपमा वागमति प्रदेशको हिस्सा सबैभन्दा धेरै रहेको छ । प्राधिकरणका अनुसार साउन महिनामा वागमिति प्रदेशले जम्मा जीवन बीमा व्यवसायको ४२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा ७ प्रदेशमध्ये ६ वटाको व्यवसाय अर्बभन्दा माथि छ भने कर्णाली प्रदेशमा जीवन बीमाको व्यवसाय करोडमा सीमित रहेको छ । प्राधिकरणको तथ्यांकअनुसार सबै सूचकमा पछि परेको कर्णालीको जीवन बीमा गराउनेको संख्यामा पनि निकै कम देखिएको हो ।
प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा बागमती प्रदेशका जिल्लाहरुबाट जीनव बीमा कम्पनीहरुले ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो जम्मा जीवन बीमा व्यवसायको ४२.६० प्रतिशत हो । जीवन बीमा कम्पनीहरुको व्यवसाय अहिले पनि सुगम क्षेत्रका रुपमा रहेको बागमती प्रदेशमा नै केन्द्रीय भएको देखिन्छ । चालु आवको साउन महिनामा ७ प्रदेशमध्ये कर्णाली प्रदेशको हिस्सा जम्मा २.९७ प्रतिशत मात्रै रहेको छ । कर्णाली प्रदेशबाट जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा ५५ करोड २८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिनामा बागमती प्रदेश पछि धेरै बीमा शुल्क बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेका छन् । यो प्रदेशबाट १४ जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीहरु २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो जम्मा व्यवसायको १५.२१ प्रतिशत हुन आउँछ ।
प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा कोशी प्रदेशबाट जीवन बीमा कम्पनीहरुले २ अर्ब ४९ करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो जम्मा व्यवसायको १३.४० प्रतिशत हुन आउँछ । त्यस्तै साउन महिनामा कम्पनीहरुले मधेश प्रदेशबाट १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो जम्मा बीमा शुल्कको ९.०३ प्रतिशत हो ।
साउन महिनामा गण्डकी प्रदेशका जिल्लाहरुबाट जीवन बीमा कम्पनीहरुले जम्मा बीमाका व्यवसायको १०.८६ प्रतिशत बीमा शुल्क संकनल गरेका छन् । यो प्रदेशबाट जीवन बीमा कम्पनीहरुले २ अर्ब १ करोड ७६ लाख रुपैयाँ बीमा संकलन गरेका छन् । त्यस्तै जीबन बीमा कम्पनीहरुले सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो जम्मा जीवन व्यवसायको ५.८९ प्रतिशत हुन आउँछ ।
चालु आर्थिक वर्षको साउन महिनामा १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरुको समेत गरेर १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँको व्यसवाय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्