तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा तनहुँमा ७ सय ७० वटा उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालयको तथ्यांक अनुसार जिल्लामा ७ सय ७० वटा साना उद्योग थपिएका हुन् ।
कार्यालयको तथ्यांक अनुसार उद्योगतर्फ ३९८ र वाणिज्यतर्फ ३७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९÷८० को तुलनामा आव २०८०/८१ मा १५ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ । आव २०७९/८० मा ६६ लाख ४ हजार २०० राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०/८१ मा ५१ लाख ४ हजार ८०० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा १ हजार १ सय ३७ उद्योग र ८ सय १७ वाणिज्य नवीकरण भएका छन’, कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने । त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा ३९७ र भदौमा १७४ तथा वाणिज्यतर्फ साउनमा ३२७ र भदौमा २११ वटा उद्योग नवीकरण भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्