काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूले २३ करोड बढीको नाफा आर्जन गरेको छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको साउन महिनामा फायनान्स कम्पनीहरुले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा वृद्धि भएको छ भने ५ वटाको नाफा घटेको छ । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने फाइनान्समा प्रोग्रेशिभ फाइनान्स रहेको छ । यो फाइनान्सले साउन महिनामा ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै साउन महिनामा आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, साउन महिनामा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
घाटा बेहोर्ने फाइनान्स कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धिले साउनमा ८ करोड ६९ लाख घाटा बेहोरेको छ । यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई समान ८÷८ लाख रुपैयाँ घाटा लागेको छ ।
प्रतिक्रिया दिनुहोस्