काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीको अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको हो ।
शिखर इन्स्योरेन्स सन्धिखर्क शाखाले आयोजना गरेको कार्यक्रममा ५० जना रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । शाखा प्रमुख लक्ष्मण केसीका अनुसार वार्षिकोत्सवको अवसरमा देशभर रहेका शाखाहरूले यस्तै विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
रक्तदान कार्यक्रममा स्थानीय व्यवसायी, पत्रकार र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो । संकलित ५० युनिट रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, बुटवलमा पठाइएको छ । त्यसैगरी, शिखर इन्स्योरेन्स तौलिहवा शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गरी ३० युनिट रगत संकलन गरेको छ । तौलिहवा शाखाका प्रमुख अरूण कुमार मिश्नका अनुसार रक्तदानका लागि जनचेतना बढ्दै गएकोले ठूलो सहभागिता प्राप्त भएको हो ।
स्वास्थ्यकर्मीहरूले रगत दानको महत्त्वबारे जानकारी दिँदै डेङ्गु लगायतका रोगहरूको प्रकोपका कारण रगतको अभाव भइरहेका बेला यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । १८ देखि ६५ वर्ष उमेर समूहका स्वस्थ व्यक्तिहरूले रक्तदान गर्न सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्