काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज मंसिर २४ गते बस्दैछ । सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ । त्यस्तै संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पनि समावेश छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ देखि बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्