काठमाडौं । पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) उच्च रूपमा बढेको छ । एनपीएल वृद्धि भएसँगै त्यसको असर गैरबैंकिङ सम्पत्ति (एनबीए)मा परेको छ । पछिल्लो समय बैंकहरूको निक्षेप बढ्दै गएको छ भने कर्जाको माग न्यून छ । विगतमा प्रवाह भएको कर्जाबाट नियमित साँवाब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब ७२ करोड ३० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा औसत निष्क्रिय कर्जा ४.४२ प्रतिशत छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.७६ प्रतिशत विन्दुले बढी हो ।
यस्तै गैरबैंकिङ सम्पत्ति पनि गत वर्षभन्दा १६ अर्ब ३३ करोड ९० लाख रुपैयाँले बढी हो । गत वर्ष असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा ३.६६ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति २१ अर्ब ३८ करोड ४० लाख रुपैयाँ थियो ।
गत असोजसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ भने निष्क्रिय कर्जा ४.२८ प्रतिशत छ । गत वर्ष असोज मसान्तको तुलनामा निष्क्रिय कर्जा ०.६७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १४ अर्ब १ करोड रुपैयाँ बढी हो । गत वर्ष असोजसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ३.६१ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १७ अर्ब ७२ करोड ४० लाख रुपैयाँ थियो ।
गत असोजसम्म विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७० करोड ३० लाख रुपैयाँ र निष्क्रिय कर्जा ४.३७ प्रतिशत छ । गत वर्षको सोही अवधिकोे तुलनामा निष्क्रिय कर्जा एक दशमलव १८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १ अर्ब ३० करोड ९० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा ३.१९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब ३९ करोड ४० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत असोजसम्म निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २८ करोड ६० लाख रुपैयाँ छ । एक वर्षअघिको तुलनामा गैरबैंकिङ सम्पत्ति १ अर्ब १ करोड ९० लाख रुपैयाँले बढी हो भने निष्क्रिय कर्जा २.४७ प्रतिशतले बढी हो । गत वर्ष असोज मसान्तमा निष्क्रिय कर्जा ८.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १ अर्ब २६ करोड ७० लाख रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्