एजेन्सी । चीनमा बढ्दो बेरोजगारीले समस्या सृजना गर्दै जाँदा विश्वविद्यालयबाट डिग्री पूरा गर्नेहरुले सामान्यभन्दा सामान्य जागिर गर्नु परिरहेको छ । योग्यता पुगेका जनशक्तिहरु डेलिभरी चालकदेखि प्रहरी अधिकारीका लागि समेत संघर्ष गर्नुपरिरहेको छ । यी सबै घटनाहरू एक सङ्घर्षरत अर्थतन्त्रका वास्तविक उदाहरण हुन् । र, यस्ता अन्य धेरै घटनाहरू पत्ता लगाउन गाह्रो छैन ।
“मेरो सपना लगानी बैंकिङ क्षेत्रमा काम गर्ने थियो”, सन् झान भन्छन्, “जो दक्षिणी चीनको नानजिङ सहरमा रहेको हटपोट रेस्टुरेन्टमा वेटरका रूपमा काम गर्न सुरू गर्न लागिरहेका छन् ।” २५ वर्षीय सन् झानले हालै विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गरेका छन् । विश्वविद्यालयको पढाइ पूरा गरेपछि उनले सोहीअनुसारको धेरै पैसा कमाउने अपेक्षा राखेका थिए । तर काम नपाएपछि उनी रेस्टुरेन्टमा काम गर्न बाध्य भएका छन् ।
चीनले हरेक वर्ष लाखौं विश्वविद्यालय स्नातक उत्पादन गरिरहेको छ, तर केही क्षेत्रमा तिनीहरूका लागि पर्याप्त रोजगारी छैन । अर्थतन्त्र प्रमुख क्षेत्रहरू जस्तै रियल इस्टेट र निर्माण उद्योगमा सङ्घर्षरत छ र स्थिर हुन सकेको छैन ।
चीनमा युवाहरूको बेरोजगारी दर २० प्रतिशतसम्म पुगेको थियो । जुन तथ्याङ्कलाई कम देखाउन गणनाको तरिका परिवर्तन गरिएको थियो। सन् २०२४ को अगस्टमा यो १८.८ प्रतिशत थियो भने नोभेम्बरमा १६.१ प्रतिशतमा झरेको थियो ।
विश्वविद्यालयबाट स्नातक पूरा गर्नेहरु आफ्ना अध्ययन क्षेत्रसँग मेल खाने काम पाउन असमर्थ भएका छन्, अब उनीहरूको योग्यताभन्दा तलको काम गरिरहेका छन् । यसले तिनीहरूका परिवार र साथीहरूको आलोचना निम्त्याएको छ । जब सन् झान वेटर बने, यो कुरा उनका अभिभावकहरूलाई मन परेको थिएन ।
उनका परिवार उनको रोजगारीको छनोटबाट लज्जित भएको अनुभव गर्छन् र उनलाई सार्वजनिक सेवक वा सरकारी अधिकारी बन्न प्रेरित गर्न चाहन्थे । तर, उनी थप्छन्, “यो मेरो निर्णय हो ।” यद्यपि, उनको एउटा गोप्य योजना छ । वेटरको रूपमा काम गर्दा उनले रेस्टुरेन्ट व्यवसाय सिकेर अन्ततः आफ्नै व्यवसाय खोल्ने योजना बनाएका छन् । उनलाई लाग्छ, यदि उनी सफल व्यवसाय चलाउन सक्षम भए भने, परिवारका आलोचकहरूले आफ्नो धारणा परिवर्तन गर्नुपर्नेछ ।
“चीनमा रोजगारीको अवस्था साँच्चै चुनौतीपूर्ण छ, त्यसैले धेरै युवाहरूले आफ्नो अपेक्षा पुनः समायोजन गर्नुपर्छ”, हङकङको सिटी विश्वविद्यालयकी प्राध्यापक झाङ जुन भन्छिन् । उनका अनुसार धेरै विद्यार्थीहरूले राम्रो सम्भावना पाउन उच्च डिग्री खोजिरहेका छन्, तर रोजगारी वातावरणको वास्तविकता उनीहरूलाई असर गर्छ ।
“रोजगारी बजार साँच्चै कठिन छ”, २९ वर्षीया वु दानले भनिन् । उनी हाल शाङ्घाईको खेलकुद चोटपटक मसान उपचार क्लिनिकमा प्रशिक्षार्थीको रूपमा कार्यरत छन् । “मेरो मास्टर डिग्रीका धेरै साथीहरूका लागि यो पहिलोपटक रोजगारी खोज्ने अवसर थियो, तर धेरै थोरैले मात्रै रोजगारी पाएका छन् ।”
फाइनान्स विषयमा हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट स्नातक गरेकी वु दान यो अवस्थामा पुग्छु भन्ने कल्पना गरेकी थिइनन् । यसअघि, उनी शाङ्घाईमा रहेको एक फ्युचर्स ट्रेडिङ कम्पनीमा कृषि उत्पादनहरूमा विशेषज्ञता हासिल गरिरहेको अवस्थामा काम गर्थिन् । हङकङमा अध्ययन सकेर मुख्य भूमिमा फर्किएपछि उनी निजी इक्विटी फर्ममा काम गर्न चाहन्थिन् । उनलाई केही प्रस्तावहरू पनि आए, तर ती शर्तहरू उनीलाई मन परेनन् ।
उनले ती प्रस्ताव स्वीकार नगरेर खेलकुद औषधिको प्रशिक्षण थालेको कुरा उनका परिवारलाई पनि मन परेको छैन । सुरुआती दिनमा उनको रोजगारीको छनोटलाई परिवारले मन पराएको थिएन । तर अहिले भने आमाले समर्थन गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्