काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट लिमिटेडको अनुमति पत्र नवीकरण भएको छ । कम्पनीको नाममा रहेको बाँकी बक्यौता रकम बुझाएसँगै सुबिसुको लाइसेन्स ५ वर्षका लागि नवीकरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
सुबिसुले ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी बापत ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बुझाएर ५ वर्षका लागि लाइसेन्स नवीकरण गरेको हो । जसमा कम्पनीले रोयल्टी बापत १७ करोड ४८ लाख ५१ हजार ६१५ र आरटीडीएफ बापत १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ प्राधिकरणलाई बुझाएको हो । दूरसञ्चार सेवा प्रदायकहरुले सेवा सञ्चालन गरे वापत कुल आम्दानीको ४ प्रतिशतका दरले रोयल्टी तथा २ प्रतिशतका दरले आरटीडीएफ बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।
मर्मत संभार शुल्क सम्बन्धी विवादका कारण सुबिसु लगायत केही इन्टरनेट सेवा प्रदायकबाट सम्पूर्ण बक्यौता भुक्तानी नभएको भन्दै प्राधिकरणले लाइसेन्स नवीकरण गरेको थिएन ।
प्रतिक्रिया दिनुहोस्