Skip to content
Prabhu

भुषाल ग्रुप विशाल सिमेन्टबाट बाहिरियो प्रमोद यादव नयाँ लगानीकर्ताको रुपमा भित्रिए

काठमाडौं । बुटवलको भुषाल ग्रुप विशाल  सिमेन्टबाट बाहिरिएको छ ।

भुषाल ग्रुपले २०७७ सालमा विशाल सिमेन्टको स्वामित्व लिएको छ । सिमेन्ट व्यवसायमा प्रवेश गरेको ग्रुप ४ वर्षपछि बाहिरिएको हो ।

भुषाल ग्रुपले भैरहवाका प्रमोद यादवलाई सिमेन्टको सेयर बिक्री गरेर बाहिरिएको हो ।

भुषाल ग्रुपका कार्यकारी निर्देशक अंकित भुषालले सिमेन्ट बिक्री गरेर बाहिरिएको बताए । उनले कति रकममा सिमेन्ट खरिदबिक्री भयो भनेर भने जानकारी दिएनन् । ‘भुषाल ग्रुपले विशाल सिमेन्टमा रहेको सिमेन्ट बिक्री गरेर बाहिरिएको छ,’भुषालले भने,‘कति रकममा बिक्री भयो भन्ने त्यसलाई अहिले गोप्य नै राखौं।’

ग्रुपले ४ वर्ष अगाडि १ अर्ब रकममा सिमेन्टको स्वामित्व लिएको छ । क्लिङकर उत्पादन गर्ने लक्ष्य सहित सिमेन्ट व्यवसायमा हात हालेको भुषाल ग्रुपलाई पछिल्लो समय निर्माण क्षेत्रमा आएको सुस्तताले गर्दा समस्यामा परेको थियो । कोभिडको समयमा ग्रुपका अध्यक्ष बालकृष्ण भुषालले भैरहवाको पाँचतारे होटल समेत खरिद गर्ने सम्झौता गरेका थिए । मुद्दा प्रक्रिया गर्दा भुषाल ग्रुप टाइगर प्यालेस खरिद गर्न भने सकेन ।

सिमेन्ट खरिद गर्ने प्रमोद यादव नेपाली कांग्रेसका नेता हुन् । उनी २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका थिए ।

भुषाल ग्रुप काठमाडौं बाहिर ट्रेडिङ क्षेत्रमा केन्द्रीत भएको व्यवसायिक समूह हो ।

अहिले बिक्री गरेको बिशाल सिमेन्ट सन् २०१० मा स्थापना भएको हो । उद्योगको रुपन्देहीको मियानिहियास्थित फ्याक्ट्रीमा अहिले प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको थियो ।

नेपालमा चिनियाँ लगानीको होङ्सी सिमेन्टको प्रवेशसँगै साना उद्योगहरुलाई समस्या भएको थियो । खरिद गरेको २ वर्षसम्म उत्पादन र कारोबार बढेपनि पछिल्लो वर्षमा उत्पादन र कारोबार घटेको थियो । पछिल्लो क्रेडिट रेटिङको तथ्यांक अनुसार सिमेन्टको ५९ करोड रुपैयाँ ऋण थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal