काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज(नेप्से)को लाइसेन्स दिने सहित सेयर बजारको सुधारको परियोजना सञ्चालन गर्न समिति गठन गरेको छ ।
धितोपत्र बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नयाँ लाइसेन्सको प्रक्रियाको लागि कानून मन्त्रालयका सहसचिव समेत रहेका धितोपत्र बोर्डका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको हो । समितिका सदस्यमा भट्टराई सहित ३ जना धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य छन् । दुईजना धितोपत्र बोर्डका कर्मचारी छन् ।
कानूनका सहसचिव भट्टराईको समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको समितिले दिएको सिफारिसलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले गर्ने कामलाई अगाडि बढाउने छ । सो अनुसार नयाँ स्टकको लाइसेन्सको प्रक्रिया अगाडि बढाउने तयारी धितोपत्र बोर्डको छ ।
नयाँ स्टकको लाइसेन्सको विवाद भने सदनमा समेत प्रवेश गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निश्चित व्यापारीलाई फाइदाको लागि स्टकको लाइसेन्स दिन लागिएको बताएका थिए ।
बिहीबार सदनमा नयाँ स्टकको विषयमा विरोध भएरहेको बेला बोर्डको सञ्चालक समितिले प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सो बैठकमा राष्ट्र बैंकका प्रतिनिधि तुलसीप्रसाद घिमिरे र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थी भने अनुपस्थित थिए ।
नयाँ लाइसेन्समा व्यवसायिक घरानाबीच निकै ठूलो विवाद छ । कसले लाइसेन्स लिने भन्नेमा राजनीतिक दलबीच विवाद निकै छ । प्रचण्डको जवाफमा अर्थमन्त्री बिष्णु पौडेलले प्रचण्ड प्रधानमन्त्री भएको बेलाको प्रक्रिया अगाडि बढाउन लागेको बताएका थिए ।
बोर्डमा रमेश हमाल अध्यक्ष हुँदा नयाँ स्टकको लागि लाइसेन्स खुलाएका थिए । त्यो बेला हिमालयन स्टक एक्सचेन्ज,नेशनल र अन्नपूर्ण स्टकले आवेदन दिएका थिए । बोर्डले हमालको समयमा आवेदन दिएका कम्पनीलाई नै लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने तयारी गरेका छ ।
अध्यक्ष श्रेष्ठले लाइसेन्सको प्रक्रिया जहाँबाट रोकिएको हो त्यहीबाट सुरु गर्ने पक्षमा छन् । धितोपत्र बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाएपनि सो निर्णय गर्नुपर्ने कर्मचारी भने डराएका छन् । व्यापारी घरानाको लडाईमा करिअर सकिने र एउटा पक्षले लाइसेन्स पाएमा अर्को पक्षले अख्तियार लगाउने डर रहने हुँदा काम गर्ने पक्षमा कर्मचारी नभएको स्रोतले जानकारी दियो ।
‘व्यापारीको लडाईमा कर्मचारीहरु पर्ने देखियो,’बोर्डका एक कर्मचारीले भने,‘बोर्डले लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ यो बेला काम गर्नेभन्दा नगर्दा ठिक हुने अवस्था छ ।’
प्रतिक्रिया दिनुहोस्