Skip to content
Prabhu

१८ वर्षपछि सिद्धार्थ राणा जलविद्युत्‌मा, ४० करोड खर्चेर ७८ मेगावाटको त्रिवेणी भेरीको लाइसेन्स लिए 

काठमाडौं । जलविद्युत् क्षेत्रमा व्यवसायी सिद्धार्थ राणाले १८ वर्षपछि प्रवेश गरेका छन् ।
नेपालको ठुलो व्यावसायिक घरानाको रूपमा चिनिने सिद्धार्थ राणाको कम्पनी तारा म्यानेजमेन्टले ७८ मेगावाटको त्रिवेणी भेरी नदीको जलविद्युत्को लाइसेन्स स्वामित्व लिएको हो । स्रोतका अनुसार तारा म्यानेजमेन्टले ४० करोड खर्च गरेर त्रिवेणी भेरी नदी ७८ मेगावाटको लाइसेन्स लिएको हो ।
यसको लाइसेन्सको स्वामित्व अहिले रारा कर्णाली हाइड्रोपावर लिमिटेडसँग रहेको छ ।
स्रोतका अनुसार केही दिन अगाडि राणाको कम्पनी तारा म्यानेजमेन्टले जलविद्युत् आयोजना निर्माणको लागि ७८ मेगावाटको त्रिवेणी भेरीको स्वामित्व लिने निर्णय गरेको हो । निर्णय प्रक्रियामा संलग्न स्रोतका अनुसार केही दिनभित्रमा यसको स्वामित्व लगायत कानुनी रूपमा हस्तान्तरणको प्रक्रिया सकिने छ ।
अहिले तारा म्यानेजमेन्टसँग ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ ।
अमेरिकन पाण्डा पावरको लगानी रहेको भोटेकोसी जलविद्युत् आयोजना २०६३ सालमा भने तारा म्यानेजमेन्टले खरिद गरेको थियो । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेताको रूपमा ठुलो व्यावसायिक घरानाको परिचय बनाएपछि त्यसपछि तारा म्यानेजमेन्टले जलविद्युत् क्षेत्रमा लगानी गरेको थिएन ।
भोटेकोशीको निर्माण अमेरिकन कम्पनीले गरेको र निर्माण सम्पन्न भएपछि यसको स्वामित्व तारा म्यानेजमेन्टले लिएको हो । यो पटक राणाले जलविद्युत् आयोजनाको निर्माण प्रत्यक्ष गर्ने गरी नै लगानी गर्न लागेका हुन् ।
अमेरिकी डलरमा नेपाल विद्युत् प्राधिकरणसँग डलरमा विद्युत् खरिद सम्झौता(पीपीए) गरेको भन्दै भोटेकोशीको भने आलोचना हुने गरेको छ । अरुण तेस्रोमा २०५१ सालमा विश्व बैंक फर्केपछि सरकारले भोटेकोसी र खिम्तीमा डलरका पीपीए गरेको थियो । डलरको मूल्य बढेको कारण विद्युत् प्राधिकरणलाई आर्थिक नोक्सानी भएको भन्दै यसको अहिलेसम्म समेत आलोना हुने गरेको छ ।
ठुलो व्यावसायिक घरानाको भएपनि सिद्धार्थ राणा भने खासै चर्चामा आउन नचाहने व्यवसायीमा पर्छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर तिर्ने सूचिमा १० पटकभन्दा बढी परेपनि उनी सार्वजनिक जीवनमा भने खासै देखिएका छैनन् ।
राणाले भोटेकोशीको स्वामित्व तारा म्यानेजमेन्टले लिएपनि अन्य जलविद्युत् आयोजनाको निर्माण गर्ने तयारी गरेपनि त्यो पुरा भने भएको थिएन । ७८ मेगावाटको त्रिवेणी भेरी जाजरकोट रुकुम पश्चिमा निर्माण हुने छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal