Skip to content
Prabhu

केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने २ सुरक्षा कर्मचारी बर्खास्त, ३ जना निलम्बन

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुईजना सुरक्षा कर्मचारी, दुईजना होस्टल कर्मचारी र एकजना प्रशासन अधिकारीलाई कारबाही गरेको छ ।

मंगलबार सूचना जारी गर्दै केआईआईटीले सो जानकारी दिएको हो । केआईआईटीले आफ्ना दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त, दुई होस्टेल अधिकारी र एकजना प्रशासन अधिकारीलाई निलम्बन गरिएको जनाएको छ ।

‘केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्छन्,’ सूचनामा भनिएको छ, ‘दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ । दुई वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’

क्याम्पसका कर्मचारीहरू नेपाली विद्यार्थीलाई फर्काउन सहजीकरण गर्न केआईआईटीमा ‘कन्ट्रोल रुम’ सञ्चालन गरिएको र यसले सातै दिन चौबिसै घण्टा काम गर्ने सूचनामा उल्लेख छ । क्याम्पसका कर्मचारीलाई सम्पर्क गर्नुपरेमा यस नम्बरमा ं९१ ८११४३८०७७० सम्पर्क गर्न भनिएको छ ।

आफ्ना केही कर्मचारीले तनावको समयमा गरेको टिप्पणीप्रति केआईआईटीले क्षमा मागेको छ । ‘हामी हाम्रा विद्यार्थीको सुरक्षालाई सबैभन्दा बढी प्राथमिकता दिन्छौँ,’ सूचनामा उल्लेख छ ।

केआईआईटीको गर्ल्स होस्टलमा आइतबार एकजना बीटेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

विश्वविद्यालयको लापरवाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ।

उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal