Skip to content
Prabhu

लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै भण्डारी

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् ।

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन्।

अर्घाखाँची सिमेन्ट
Hyundai

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन् । ‘अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ । बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ’, उनले भनिन् ।

बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका १७० बिक्री जनाउँदै उनले अहिले भने ५०रुपैयाँ मा बिक्री हुने बताइन् ।

उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन् । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनीे दैनिकजसो जान्छिन् ।

भण्डारीले मासिक ४० हजार रुपैयाँ बढी लौकाबाट आम्दानी हुने गरेको बताइन्। उनले भनिन्, ‘लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।’ छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख रुपैयाँ तिरिसक्न लागेको उनले उल्लेख गरिन्।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गर्छिन् ।

‘दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ’, भण्डारीले भनिन्।

उनका श्रीमान् पूर्र्वप्रहरी हुन् । श्रीमानले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । ‘बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ’, उनले भनिन् ।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन् ।

दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन् । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन्।

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ ।

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाट पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिइन्। लौका तरकारीका रूपमा बेच्दा दुई सय रुपैयाँसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन् । ५० को तीनवटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन् ।

‘ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौं । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ’, भण्डारीले भने।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्