काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा १ अर्ब ८७ करोड बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले गत आवको सोही अवधिको भन्दा ३ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ ।
यद्यपि बैंकको आम्दानी र सञ्चालन नाफा भने केही घटेको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ । यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्