Skip to content
Prabhu

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको सांघाईमा मोडिएको जिन्दगी

nabil

सांघाई ।  पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जिनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९१ मा चीनको सांघाईमा आइपुगे । पहिलो पटक आएको बेला सापकोटा केही समयमा भाषा अध्ययन सम्पन्न गरेर स्वदेश फर्किए ।

दोस्रो पटक सन् २००० मा स्नातकोत्तर गर्न फेरि सांघाई आएका उनले श्रीमती सम्झना सापकोटालाई समेत साथमा ल्याए । त्यसपछि भने सापकोटा परिवार नेपाल फर्किएन र चीनमै केही गर्नुपर्छ भन्दै डटिरह्यो । त्यसकै परिणाम स्वरूप अनन्त सापकोटाले चीनको सांघाईस्थित बिभिन्न संस्थाहरुमा काम गर्दै अहिले स्वतन्त्र परामर्शदाताको रूपमा कार्यरत छन् भने श्रीमती सम्झना पनि संघाईस्थित एक अमेरिकी स्कुलमा कार्यरत छिन् ।

अनन्तले सांघाईमै विभिन्न चिनियाँ तथा विदेशी कम्पनीमा काम गर्दागर्दै आफ्नो लगानीमा कस्मेटिक उत्पादनको काम सुरु गरे । कस्मेटिक उत्पादनको काम छोडेपछि उनले  ‘मेलालेउका’ नामक कम्पनीमा म्यानिफ्याक्चर इन्जिनियरको रूपमा काम गरे । त्यहाँबाट अवकाश भएपछि पनि उनी अहिले सांघाईमा स्वतन्त्र परामर्शदाताको रूपमा सक्रिय छन् ।

सांघाईमा काम गर्दागर्दै सापकोटा कम्बोडियामा समेत गएका थिए । त्यहाँ व्यवसाय विस्तार गर्ने अपेक्षा राखेको भए पनि सोचेअनुरुप काम नहुँदा उनी फेरि संघाईमै फर्किए । र, सांघाईमै आफ्नो कामलाई निरन्तरता दिए ।

‘अहिले सांघाईमै स्वतन्त्र परामर्श दाताको रूपमा काम गरिरहेको,’ उनले बताए । अनन्त मात्रै होइन, उनकी श्रीमती सम्झाना सापकोटा पनि सन् २००१ देखि संघाईमै छिन् । अहिले उनी ‘सांघाई लिभिङस्टोन अमेरिकन स्कुल’ मा काम गर्छिन् । उनी त्यहाँ म्यानेजरको रुपमा कार्यरत छिन् । उनीहरुको एक छोरा भने अध्ययनका लागि अमेरिकामा छन् । उनको परिवार भने समय-समयमा नेपाल आउने जाने गर्छन्।

सम्झनाले सुरुमा सांघाईमा चिनियाँ भाषा अध्ययन गरेर बसिन् । छोरासमेत जन्मिसकेकाले उनले सुरुमा काम गर्न भने समय पनि पाइनन् । छोरा हुर्किएपछि उनी सन् २००९–१० देखि काम सुरु गरिन् । सुरुमा उनले कोरियन कम्पनीमा काम गरेकी थिइन्।

संघाई विकासका प्रत्यक्ष साक्षी

संघाई चीनको पहिलो नम्बरको विकसित सहर हो । विश्वमा समेत यो बढी विकसित सहर मानिन्छ । विश्वको सबैभन्दा ठूलो मेट्रोरेल नेटवर्क पनि सांघाईकै हो । १९९० सम्म सांघाई सामान्य सहरको रूपमा थियो । अहिले सांघाई विकसित सहरको रूपमा स्थापित भइसकेको छ । संघाईको यो विकासका प्रत्यक्ष साक्षी सापकोटा परिवार पनि हो ।

‘म १९९९ आउँदा सांघाई सामान्य सहर थियो । तर, अहिले सांघाई विकसित सहरको रूपमा स्थापित भएको छ,’ अनन्त सापकोटा भन्छन्,  ‘सन् १९९२ मा मेट्रोको सुरुवात भएको थियो रे, त्यस यता सांघाईले विकास निरन्तर फड्को मार्दै आएको देखिन्छ । अहिले सांघाई विश्वकै विकसित सहरको रूपमा विकास भएको छ । पोलिसी रि–फर्म, राजनीतिक स्थायित्व, चीनको काम गर्ने शैलीलगायतका कारण संघाईसहित चीनले यो स्तरको विकास गर्न सफल भएको देखिन्छ । यहाँ योजनाबद्ध रूपमा काम गर्ने अभ्यास छ । त्यसले गर्दा चीनले यो स्तरको विकास गर्न सकेको देखिन्छ ।’

नेपालीका लागि कस्तो छ सांघाई ?

नेपालीका लागि अध्ययन र बिभिन्न काम गर्नलाई सांघाईमा राम्रो वातावरण रहेको सापकोटा परिवार बताउँछन् । संघाईमा गणित र विज्ञान विषय अध्ययनका लागि राम्रो रहेको उनीहरु बताउँछन् ।

‘अहिले यहाँको सिस्टम पनि राम्रो छ । यहाँ अध्ययनका लागि निकै राम्रो छ,’ सम्झाना बताउँछिन्।, ‘काम गर्न आउनेहरुलाई पनि धेरै राम्रो छ । कम्पनी अनुसारको फरक व्यवस्था हुन्छ । मल्टिनेसनल कम्पनीमा भयो भने राम्रो सुविधा हुन्छ । प्रक्रिया पूरा गरेको खण्डमा राम्रो सुविधा रहेको छ । यहाँ काम गर्नका लागि चिनियाँ भाषाको ज्ञान भने आवश्यक हुन्छ ।’

चीनले सन् १९८४ मा लिएको खुला नीतिका कारण विदेशीहरुलाई पनि चीनमा भविष्य निर्माण गर्न सहज हुन थालेको उनी बताउँछन् । सन् १९८४ देखि चीनले खुला नीति लियो । त्यसमा अरु देशका नागरिकले पनि चीनमा कम्पनी खोल्न पाउने र काम गर्न पाउने नीति छ,’ उनले भनिन्,  ‘त्यो नीतिले गर्दा हामीहरुलाई पनि यहाँ बसेर काम गर्न सहज भएको हो ।’

चीनको सांघाईमा बसोबास गरे पनि सापकोटो परिवारको मन भने नेपालमै छ । नेपाल पनि चीनकै जस्तो विकास भएको देख्ने चाहाने भएको सापकोटा परिवार बताउँछन् । ‘चीनको नीति नियमहरु राम्रो छ । संघाई पनि राम्रो सहर हो । व्यवसायका लागि पनि निकै राम्रो छ,’ अनन्त सापकोटा भन्छन्,  ‘यहाँको जस्तो वातावरण र विकास हाम्रो देश (नेपाल) मा पनि भइदियोस् भन्ने चाहाना छ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal