काठमाडौं । नेपाल बीमा प्राधिकरणले २०७९ साल मंसिर ११ गते ग्रामिण क्षेत्रमा कार्य गर्ने गरी लघु बीमा कम्पनीहरुलाई लाइसन्स दियो । ठूला बीमा कम्पनीहरु ग्रामीण क्षेत्रमा जाँदा उनीहरुको लागत नै बढी हुने र सानो रकमका बीमा गर्न समस्या हुनेभन्दै प्राधिकरणले विभिन्न प्रदेशमा प्रमुख कार्यालय रहने गरी ३ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको थियो ।
ठूला बीमा कम्पनीहरुको व्यवयास सहर केन्द्रीत भयो भनेर अनुमति दिएका लघुजीवन बीमा कम्पनीहरुको व्यवसाय पनि सहरमा नै केन्द्रीत देखिएको छ । लघु जीवन बीमा कम्पनीहरुको तथ्यांकअनुसार उनीहरुको व्यवसाय ग्रामिण क्षेत्रमा भन्दा सहरमा नै धेरै देखिएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म बीमापोलिसी जारी भएको तथ्यांककालाई हेर्ने हो भने लघुजीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बीमा पोलिसी बागमति प्रदेशमा जारी गरेका छन् । यो प्रदेशमा ठूला कम्पनीहरुको पनि व्यवसाय अन्य प्रदेशको भन्दा धेरै रहेको छ ।
बागमती प्रदेश संघीय राजधानी काठमाडौंसमेत भएको प्रदेश हो । लघु जीवन बीमा कम्पनीहरुमध्ये तीन वटै कम्पनीहरुको प्रमुख कार्यालय रहने स्थानसमेत यो प्रदेशमा पर्दैन । तर, बीमा पोलिसी जारी गर्ने मामलामा भने यो प्रदेशमा सबैभन्दा धेरै पोलिसी जारी भएको छ ।
बागमती प्रदेशमा चैत मसान्तसम्ममा २ लाख ५१ हजार ४७४ वटा पोलिसी जारी भएका छन् । जबकी बीमाको सबै भन्दा धेरै आवश्यकता भएको मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने निकै कम मात्रै पोलिसी जारी भएको छ । बागमतिमा साढे २ लाख भन्दा बढीको पोलिसी जारी हुँदा लघु जीवन बीमा कम्पनीले मधेस प्रदेशमा जम्मा ४ हजार ४५६ पोलिसी जारी गरेका छन् भने सुदूरपश्चिम प्रदेशमा १० हजार ९०९ वटा मात्रै पोलिसी जारी गरेका छन् ।
लाइसेन्स पाएका तीनवटा लघुजीवन बीमा कम्पनीहरुको प्रमुख कार्यालय रहने स्थानमा गार्डियन माइक्रो लाइफको विराटनगर, क्रेस्ट माइक्रो लाइफको सुर्खेत र लिबर्टी माइक्रो लाइफको प्रमुख कार्यालय पोखरामा रहने गरि लाइसन्स दिइएको थियो ।
कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्य कार्यालय रहने गरी अनुमति पाएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सो प्रदेशमा जम्मा १ लाख ६९ हजार ४४० बीमा पोलिसी जारी गरेको छ भने बागमति प्रदेशमा २ लाख ५८ हजार ५०९ पोलिसी जारी गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार लघुजीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशमा जम्मा १२ हजार ४०६ पोलिसी जारी गरेका छन् । त्यस्तै कोशी प्रदेशमा १ लाख ७५ हजार ६९६ पोलिसी जारी गर्दा गण्डकी प्रदेशमा लघुजीवन बीमा कम्पनीहरुले २ लाख २२ हजार ७४२ पोलिसी जारी गरेका छन् । लघु जीवन बीमा कम्पनीहरुले तुलनात्मक रूपमा कर्णाली प्रदेशमा भने धेरै पोलिसी जारी गरेका छन् । ठूला जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कम पोलिसी जारी हुने प्रदेशमा रहेको यो प्रदेशमा लघु जीवन बीमा कम्पनीहरुले भने ८१ हजार ७ वटा पोलिसी जारी गरेको तथ्यांकले देखाएको छ ।
बीमा शुल्क संकलनमा पनि सहरी क्षेत्रैको हिस्सा धेरै
लघुजीवन बीमा कम्पनीको बीमा शुल्क संकनल पनि सहरमा नै धेरै भइरहेको भएको देखिएको छ । लघु जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै बीमा शुल्क कोशी प्रदेशबाट संकलन गरेका छन् भने सबैभन्दा कम शुल्क मधेश प्रदेशबाट आर्जन गरेका छन् । चालु आवको चैत मसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले सबै भन्दा कम बीमा शुल्क कर्णालीबाट संकलन गरेका छन् भने सबैभन्दा धेरै शुल्क कोशी प्रदेशबाट संकलन गरेका छन् । कर्णाली प्रदेशबाट लघुजीवन बीमा कम्पनीले १ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा कोशीबाट भने १७ करोड ४८ लाख रुपैयाँ संकलन गरेका छन् ।
आर्थिक रुपमा सबैभन्दा पछाडि परेको प्रदेश नै कर्णाली प्रदेश हो । कर्णाली प्रदेशपछि सबैभन्दा कम बीमा शुल्क लघुजीवन बीमा कम्पनीहरुले मधेश प्रदेशबाट गरेका छन् । तीनवटा लघुजीवन बीमा कम्पनीले मधेस प्रदेशबाट जम्मा १ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले गण्डकी प्रदेशबाट भने ७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै चालु आवको चैत मसान्तसम्मको अवधिमा लघुजीवन बीमा कम्पनीहरुले सुदूरपश्चिम प्रदेश प्रदेशबाट जम्मा २ करोड ८६ लाख रुपैयाँ लुम्बिनी प्रदेशबाट ३ करोड ७९ लाख रुपैयाँ, र बागमति प्रदेशबाट ६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
लघु बीमा ग्रामिण भेगका लागि भनेर ल्याएको भए पनि आर्थिक रुपमा सम्पन्न भएकाहरुले नै बीमा गर्ने भएकाले अझै पनि गाउँगाउँसम्म पुग्न नसकिएको बीमा क्षेत्रका जानकारहरुको भनाइ छ । आर्थिक रुपमा सक्षम भएका क्षेत्रमानै बीमा पनि बढी हुने नेपाल बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ ।
बीमाका विषयमा जानकारी नभएर बीमा नगराउनेभन्दा पनि बीमा गर्ने पैसा नभएका कारण बीमा नगराएकाले गाउँमा भन्दा सहरमा बीमा गर्नेहरु धेरै देखिएको बीमा विज्ञ रवीन्द्र घिमिरेको भनाइ छ । ‘लाइसेन्स दिँदा मात्रै लघु बीमा गाउँमा सम्म पुग्छ भन्ने भाष्य बनाइएको हो । बीमा गर्नका लागि आर्थिक रुपमा बलियो बन्नुपर्छ,’ उनले भने । आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा निशुल्क हुनुपर्ने उनको भनाइ छ । ‘साना ठूलो जुनसुकै भए पनि बीमा पोलिसी लिनका लागि रकम आवश्यक पर्छ,’ उनले भने, जबसम्म बीमा निशुल्क हुँदैन तबसम्म बीमा गराउनेको संख्या बढ्ने सक्दैन ।’
प्रतिक्रिया दिनुहोस्