काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरुको वास्तविक विवरण सार्वजनिक गर्ने भएको छ ।
पाइपलानमा रहेका कम्पनीहरुलाई सेबोनले निष्कासन अनुमति नदिइ केही बिचौलियाहरुले आईपीओ निष्कासनमा सहयोग गर्छु भन्दै कमिसन माग्न थालेपछि बोर्डले पाइपलाइनमा रहेका कम्पनीको विवरण सार्वजनिक गर्ने तयारी गरेको हो ।
अहिले कुन कम्पनीको अवस्था के छ भन्ने विषयमा सम्बन्धित विभागबाट विवरण संकलन गर्न लागेको बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए ।
विवरण संकलन गरेर कुनको वित्तीय अवस्था, कागजात के कस्तो छ भनेर केही समयमा जानकारी गराउने उनको भनाइ छ । सेबोनले २२ महिनादेखि जलविद्युत लगायतका कम्पनीको आईपीओ निष्कासन स्थगन गरेकोे छ ।
यही बिचमा केही बिचौलियाले बोर्डले रोकेको आईपीओ निष्कासनमा सहयोग गर्छु भन्दै साना आयोजनाबाट ५ र ठूला आयोजनाबाट ७ प्रतिशत कमिसन मानेको चर्चा चुलिएको छ । यो चर्चासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेबोनमा छापा मारेको छ ।
उर्जा प्रबर्धकहरुले सेबोन अध्यक्षका बिचौलीयाले कार्यालयमा नै आएर कमिसनको मागेको आरोप लगाएपछि आयोगले बोर्डमा छापा मारेर ८९ कम्पनीको विवरण लिएको छ । आरोप लगाउने प्रबर्धकहरुले आयोगमा गएर बयान समेत दिइसकेका छन् ।
यता बोर्डका अध्यक्ष श्रेष्ठले कमिसन नलिएको र बिचौलीयाका बारेमा पनि जानकारी नभएको बताउँदै आएका छन् । उनले प्रमाण पेस गर्न समेत चुनौती दिएका छन् । बिचौलियाले कमिसन मागेको विषय अहिले संघीय संसदमा पनि पुगेको छ ।
संसदीय समितिको लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न नदिन निर्देशन दिएको थियो । त्यसलाई देखाएर बोर्डले आईपीओ निष्कासन गर्न दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्