Skip to content
Prabhu

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

nabil

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिएकी छिन् । मन्त्री डा. राणाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन् ।

नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा बर्सेनि आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मिहिनेत गरिरहेको उनले बताइन् । जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा. राणाले दिइन् ।

उनले भनिन्, ‘जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।’

जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दामा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवादको सुरुआत गरेको र यस वर्षको यो पहिलो संस्करण रहेको पनि उनले स्पष्ट गरिन् । मन्त्री डा. राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघसंगठनलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि जानकारी गराइन् । सगरमाथा संवादको व्यवस्थापन समिति संयोजक रहेकी मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रूपमा उनीहरूले सहभागिताको सुनिश्चित पनि गरेको जानकारी दिइन् ।

मन्त्री डा. राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगलाई निर्देशन पनि दिइन् । बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र परराष्ट्र सचिव अमृतबहादुर राईले पनि सगरमाथा संवादको तयारीका लागि भइरहेका कामबारे जानकारी गराए ।
सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय संघ–संगठनले सहभागिताको सुनिश्चितता गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal