काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति निकै पेचिलो बन्दै गएको छ । सरकारको नेतृत्व गरेको एमाले र कांग्रेसको सहमति अनुसार राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउने सहमति भयो । सो अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने निर्णय लिए । कार्यकारी निर्देशक रहेका गुणाकर भट्टले गभर्नर बन्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिए ।
गभर्नरको रेसमा रहेकी तथा राष्ट्र बैंकको इतिहासमा पहिलो महिला गभर्नर बनेर इतिहास लेख्ने तयारीमा रहेकी कामू गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकरको राजीनामा भने स्वीकृत अहिलेसम्म गरेकी छैनन् ।
गभर्नर नियुक्तिको विषयलाई लिएर कांग्रेस एमालेबिच एक खाले विवाद जस्तो देखिए पनि कांग्रेस सभापति देउवा भने प्रधानमन्त्रीले कांग्रेस निकट व्यक्तिलाई गभर्नर दिनेमा सहमति जनाएको भन्दै आशंका गर्न नहुँने अभिव्यक्ति दिए । पछिल्लो पटक कांग्रेस र एमालेबिच भएको छलफलमा कांग्रेसले सिफारिस गरेको व्यक्ति नै गभर्नर हुने नाममा भने गुणाकरको ठाउँमा अरुलाई पठाउनेमा छलफल भएको छ ।
शुक्रवार कांग्रेस सभापति देउवाले गुणाकरको राजीनामा निलमले स्वीकृत नगरेको हुँदा अरू नाम दिनुपर्ने विषयमा छलफल गरेका थिए । गुणाकरले कार्यकारी निर्देशकबाट गभर्नर बन्नको लागि राजीनामा दिएको हुँदा उनलाई पछि कुनै संवैधानिक निकायमा लग्ने र अर्को व्यक्तिलाई गभर्नर बनाउने विषयमा छलफल भएको छ ।
अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् डा विश्व पौडेल र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको सदस्य रहेको सिफारिस समिति रहेको छ । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारी सिफारिस समितिको सदस्य बनाइएको हो । अधिकारीको योग्यतामा प्रश्न उठाएर भने अदालतमा मुद्दा दर्ता भएको छ ।
कांग्रेस कोटामा गभर्नर बन्नको लागि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना शुरु देखि नै लागेका छन् । गुणाकरको नाम गभर्नर पदमा नियुक्त नभएपछि भएपछि कांग्रेस निकट अन्य अर्थशास्त्रीहरु समेत गभर्नरको पदको लागि कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कुरा मिलाउन लाग्नेको सूचि पुनः बढेको छ ।
गुणाकरको नाम फाइनल भएपछि चुपचाप लागेकाहरु अहिले देउवा निवासमा आर्शीवादको लागि जानेहरु बढेका छन् । कांग्रेसको एउटा समूहले भने सिफारिस समितिका सदस्य रहेका डा विश्व पौडेललाई गभर्नर बनाउनुपर्ने सुझाव दिएको छ ।
सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा गर्ने र उनको ठाउँमा कांग्रेस निकट अन्य पूर्वगभर्नर वा अर्थशास्त्रीलाई राखेर पौडेललाई गभर्नर बनाउनुपर्ने आवाज कांग्रेसमा उठेको हो । देउवाले भने गुणाकरको ठाउँमा विश्व पौडेल वा अन्य युवा अर्थशास्त्रीलाई गभर्नर बनाउन सक्ने अनुमान गरिएको छ । कांग्रेसको एउटा समूह गुणाकरको विकल्पमा ज्ञानेन्द्र ढुंगाना,अंगराज तिमिल्सिनाको पक्षमा लागेको छ । बैंकको सीईओलाई गभर्नर नबनाउने भन्ने भएमा योजना आयोगका उपाध्यक्ष रहेका डा विश्व पौडेल गभर्नर बन्न सक्ने सम्भावना छ । यही सम्भावना अंगराज तिमिल्सिनाको समेत छ ।
कानून अनुसार भने राष्ट्र बैंकमा करिब तीन दशक बिताएका गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न भने कुनै अड्चन भने छैन । सर्वोच्च अदालतले समेत गुणाकरलाई नियुक्त नगर्न माग राखेर दर्ता भएको रिटलाई खारेज गरेको छ ।
कामू गभर्नर रहेकी निलम ढुंगाना पछिल्लो समय आफू गभर्नर नभएमा गुणाकरको ठाउँमा कांग्रेसबाट अर्कोे व्यक्ति गभर्नर भएमा केही फरक नपर्ने गुणाकरलाई जुनसुकै हालतमा रोक्नेमा लागेकी छन् । सकेसम्म आफू गभर्नर बन्ने त्यो नसकेमा गुणाकरलाई रोक्ने नीति अहिले म्याडम कामू गभर्नरको रहेको राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्