काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्मको अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुले १ खर्ब भन्दा बढी रकम बैंकिङ प्रणाली मार्फत लगेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश पढन जाने विद्यार्थीले लगेका हुन् ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले गत आवको सोही अवधिमा ९५ अर्ब ८५ करोड रुपैयाँ लगेका थिए । पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु मार्फत विदेश जाने रकम बढ्दै गइरहेको छ ।
नेपालमा थोरै लागतमा धेरै विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र भनेको पर्यटन हो । चैत मसान्तसम्म पर्यटन क्षेत्रको आम्दानी भन्दा पर्यटकका रुपमा विदेश जाने नेपालीले गर्ने खर्च बढेको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी पर्यटकबाट नेपालमा ६६ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.५ प्रतिशतले धेरै हो ।
यो अवधिमा विदेशमा घुम्न जानेहरुले ६६ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेका छन् । नेपालमा पर्यटक बाट भित्रने भन्दा नेपाली विदेशमा घुम्न जाँदा गर्ने बर्च बढी छ ।
प्रतिक्रिया दिनुहोस्