काठमाडौं । भैरहवाको पाँचतारे होटल ‘पवन प्यालेस’को स्वामित्व व्यवसायी सुभाष अमात्यसहितको समूहले किनेको छ ।
भैरहवाको चर्चित पवन मिष्ठान भण्डारको सफलताबाट हौसिएका पवन हलुवाईले पाँचतारे होटलमा लगानी गरेका थिए । भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल तथा तत्कालीन ५ नम्बर (लुम्बिनी) प्रदेशको राजधानीले सो क्षेत्रमा होटल चल्ने अनुमान थियो । सोअनुसार धेरै व्यवसायीले होटल क्षेत्रमा भैरहवामा लगानी गरेका थिए ।
पवन हलुवाईबाट व्यवसायी सुभाष अमात्यसहितको समूहले केही दिन अगाडि नै होटल किन्ने सहमति गरेको हो । स्रोतका अनुसार १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण सकार्ने शर्तमा सुभाष अमात्यसहितको समूहले होटल किनेको हो ।
बैंकको ऋण थपिएको तथा होटल सञ्चालन गर्न कठिनाइ भएपछि हलुवाईले एकवर्षदेखि नै होटल बिक्री गरेर बाहिरिन खोजेका थिए । सोअनुसार होटलको बैंकको ऋण स्वामित्व लिने शर्तमा अमात्यले हलुवाईबाट होटल किनेका हुन् । होटल निर्माणका लागि कुमारी बैंकबाट एक अर्बभन्दा बढीको ऋण लिइएको थियो ।
‘घाटा थेग्न सक्ने वित्तीय अवस्था हलुवाईको थिएन,त्यो आधारले स्टप लस गरेर उनी बाहिरिएका छन्,’डिलमा सहभागी स्रोतले भन्यो, ‘होटल सञ्चालनमा आएपछि सोअनुसार व्यापार गर्न सकेको थिएन,जसले गर्दा होटल बिक्री गर्नु हलुवाईको बाध्यता थियो ।’
एकवर्षदेखि नै खरिदकर्ता खोजेपनि हलुवाईले खरिदकर्ता नै पाउन सकेका थिएनन् । अन्तर्राष्ट्रिय विमानस्थल नियमित नचलेमा भैरहवा क्षेत्रमा होटल व्यवसायमा नै संकट आउने अनुमान धेरै व्यवसायीको छ । विमानस्थललाई नै आधार बनाएर होटल क्षेत्रमा लगानी गरेका थिए । तर, अहिले धेरै होटलले बैंकको ब्याज र किस्ता नियमित तिर्न सकेका छैनन् ।
व्यवसायी अमात्यले भने नयाँ तरिकाबाट होटल सञ्चालन गर्ने सोच बनाएका छन् । खास गरेर भारतीय पर्यटकलाई केन्द्रित गरेर प्याकेजसहित नयाँ ढंगले होटल सञ्चालन गर्ने योजना अमात्यले बनाएका छन् । अमात्य प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूर्वसञ्चालक समितिको अध्यक्ष हुन् ।
नयाँ समूहले शनिबारदेखि नै होटलको व्यवस्थापन समाल्ने गरेर काम गर्ने स्रोतले जानकारी दियो । शनिबारबाट नै नयाँ समूह होटलको व्यवस्थापनमा प्रवेश गर्ने छ र होटललाई नयाँ ढंगले सञ्चालन गर्ने छ ।
भैरहवा क्षेत्रमा मात्र २५ अर्बभन्दा बढी होटल क्षेत्रमा लगानी भएको छ । विमानस्थल नियमित सञ्चालन हुन नसक्ने स्थितिमा वैकल्पिक उपाय नसेचोमा सो क्षेत्रमा होटलको भविषयमा नै प्रश्न उठ्ने छ ।
प्रतिक्रिया दिनुहोस्