एजेन्सी । बायजुका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक बायजु रविन्द्रनले आफूमाथि लागेको भगौडाको आरोप गलत भएको दाबी गरेका छन् । उनले ती सबै आरोपहरू गलत र फर्जी कथा भएको बताए । उनले संकटमा कम्पनीमाथि नियन्त्रण पाउन खोज्ने केही स्वार्थ समूहको षडयन्त्र समेत भएको उल्लेख गरे ।
एएनआईसँगको विशेष अन्तरवार्तामा रवीन्द्रनले कम्पनीको छवि बदनाम गर्ने प्रयासको पछाडि केही अमेरिकी ऋणदाताहरू रहेको दाबी गरे । रवीनद्रनले अमेरिकी ऋणदाताहरूले आफू र आफ्ना भाइ रिजु रवीन्द्रनलाई भगौडा बताउँदै भारतीय अदालतहरूमा पक्षपात सिर्जना गर्ने प्रयास गरेको आरोप पनि लगाए ।
बायजूले यस किसिमका गलत प्रचारहरूले कम्पनीको मूल्यांकनमा ठूलो असर पर्ने बताए । “कुनै कम्पनी जहाँ संस्थापकको नाम जोडिएको छ वा संस्थापकले सुरुवाती वर्षहरूमा महत्वपूर्ण भूमिका खेलेको छ, त्यस्तो कम्पनीमा संस्थापकको नाम खराब पार्दा कम्पनीको मूल्यांकनमा गम्भीर प्रभाव पर्छ”, उनले भने । कुनै समय बायजूको मूल्यांकन २२ अर्ब डलरसम्म पुगेको थियो ।
तर, वित्तीय व्यवस्थापनमा समस्या, कानुनी विवाद र ऋणको भारका कारण २०२४ मा बायजूको मूल्यांकन शून्यसम्म झरेको छ । रवीन्द्रनले २०११ मा यस कम्पनीको स्थापना गरेका थिए ।
भगौडाको आरोपलाई लिएर रवीन्द्रनले यो केवल उनीहरूले ‘दुर्भावनापूर्ण मिडिया अभियान’ भनेका प्रयासहरूको एक हिस्सा मात्र भएको बताएका छन् । बायजूले आफूहरूका सम्पूर्ण सम्पत्ति र कम्पनी भारतमै रहेको समेत बताए । “हाम्रो सबै सम्पत्ति र कम्पनी भारतमै रहेको छ, सबै नाफा भारतमै कमाएको छौं, कर भारतमै तिरेका छौं र लगानी पनि भारतमै पुनः लगानी गरेका छौं,” उनले भने ।
यसैबीच, ऋणले डुबेको बायजू कम्पनीलाई पुनःसञ्चालन गर्ने योजना बनाइरहेको पनि रवीन्द्रनले सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा आफ्नो पुरानो फोटो सेयर गर्दै लेखे, “टुटेका थियौं, तर टुटेका छैनौं । हामी फेरि उठ्नेछौं । म आफ्ना विद्यार्थीहरूको आँखामा चमक सम्झन्छु ।”
एक समय भारतको सबैभन्दा ठूलो स्टार्टअप भएको बायजूको मूल्यांकन २०२२ सम्म २२ अर्ब डलर अर्थात् करिब १.८८ लाख करोड भारुसम्म पुगेको थियो । तर खराब वित्तीय व्यवस्थापन र अन्य समस्याका कारण २०२४ मा यसको नेटवर्थ शून्य पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्