काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । युवा अर्थशास्त्री डा पौडेलसँग अर्थजगतका बारेमा स्वदेशी तथा विदेशी निकायमा काम गरेको लामो अनुभव छ ।
उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निया (बर्कले) बाट विद्यावारिधी गरेका छन् । पौडेलले डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
सन् २०१२ जुन देखि २०१३ मे सम्म सानिमा बैंकको सञ्चालकको रूपमा काम गरेका थिए । उनले सन् २०१७ सेप्टेम्बर देखि २०१८ फेब्रुअरीसम्म विश्व बैंकको कन्सल्ट्यान्ट भएर काम गरेको अनुभव छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा स्न २०१८ फेबु्रअरीदेखि २०२० अप्रिलसम्म काम गरेका थिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा अर्थशास्त्रीको रूपमा काम गरेका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा सन् २०१२ मे देखि २०१७ सेप्टेम्बरसम्म एसोसिएट प्रोफेसर थिए भने २०१७ सेप्टेम्बरदेखि २०२१ जुलाईसम्म भिजिटिङ एसोसिएट प्रोफेसर रहेका थिए ।
उनी युलेन्स एजुकेशन फाउन्डेसन (स्कूल) मा सन् २०१९ अगस्टदेखि २०२१ जुलाईसम्म बोर्ड अफ ट्रस्टीका रूपमा रहेका थिए । उनले सानिमा मिडल तमोटर हाइड्रोपावर कम्पनीमा सन् २०१८ फेब्रुअरी देखि २०२१ जुलाईसम्म सञ्चालकको रुपमा काम गरेका छन् ।
उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । डा. पौडेल कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वाश पात्र हुन् । डा. पौडेल नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन् ।
डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुन् । उनी साहित्यप्रेमी समेत हुन् । उनका विभिन्न साहित्यिक रचनाहरू समेत प्रकाशित छन् ।
उनी २०७९ मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थिए । निर्वाचनमा कांग्रेसबाट पौडेलका साथै एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र रास्वपाबाट हरि ढकाल उम्मेदवार रहेका थिए । ढकालले पौडेल र पाण्डेलाई पराजय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्