काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको ‘सफ्ट ड्रिंग्स’ (हल्का) नेपाल भित्रने भएको छ । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले अम्बानीको ब्राण्ड ‘क्याम्पाकोला’ नेपालमा भित्र्याउन लागेका हुन् ।
केही समयअघि मात्रै चौधरी समूहले यो ब्राण्डको नेपालका उत्पादन गर्ने आधिकारिकता ‘बोटलिङ ब्राण्ड अथोरिटी’ पाएको छ । स्रोतका अनुसार अब केही समयभित्र नेपालमा यसको उत्पादन तथा बिक्री वितरण सुरु हुने छ ।
चौधरी समूहले नेपालमा पेय पदार्थमा रियो जुस र सिजी ब्रुअरीले नेपाल आइस, रियल गोल्ड, मुस्ताङ वियर उत्पादन गरिरहेका छन् । चौधरी समूहले अहिलेसम्म नेपालमा सफ्ट ड्रिंग्स उत्पादन गरेको थिएन् । अब भने सफ्ट ड्रिंग्स उत्पादनमा पनि लगानी गर्ने भएको छ ।
नेपालमा सफ्ट ड्रिंग्सको बजार धेरै नै राम्रो रहेको छ । वार्षिक करिब ३० अर्बको हाराहारीमा नेपालमा ‘सफ्ट ड्रिंग्स’को कारोबार हुने गरेको छ । नेपालमा बार्षिक रुपमा पेप्सीको बजार करिब ९ अर्बको हुन आउँछ । यता कोकाकोलाको भने करिब २० देखि २१ अर्बको हुने गरेको छ ।
औसतमा नेपालमा हल्का पेश पदार्थको हिस्सा ३० अर्बको हाराहारीमा रहेको छ । बढ्दो बजारलाई ध्यानमा राखेर चौधरीले नेपालमा क्याम्पाकोलाको ब्राण्ड भित्र्याउन लागेका हुन् । हाल नेपालमा बजारमा करिब एकाधिकार जनाएको कोकाकोला र पेप्सीसँग प्रतिस्पर्धा गर्नका लागि र बजारमा न्यून मूल्यमा उत्पादन पुर्याउन चौधरीले क्याम्पाकोला ल्याउन लागेको जनाएका छन् ।
यो ब्राण्ड अहिले भारतमा निकै प्रशिद्ध छ । यसले अहिले विश्व बजारमा आफ्नो उत्पादन प्रवर्धन गरि रहेको छ । नेपालमा पनि यसको ब्राण्ड भित्र्याउन लागिएको हो।
भारतमा धेरैको रोजाइमा रहेको क्याम्पाकोला सन् १९७७ मा स्थापना भएको कम्पनी हो । भारतमा यसका उत्पादनले कोकाकोला तथा पेप्सीसँग प्रतिस्पर्धा गरिरहेको छ । क्याम्पाकोला फलफूलको स्वाद (जस्तैः सुन्तला) को स्वाद पाइन्छ ।
यद्यपि यसका अन्य फ्लेबर पनि छन् । यसको मुख्य बजार दिल्ली, मुम्बईलगायत धेरै प्रदेशमा छ । यसले भारतमा कोकाकोलासँग धेरै नै प्रतिस्पर्धा गरिरहेको छ । रिलायन्स कन्जुमर प्रोडक्टले उत्पादन गरेको क्याम्पाकोला यूएइमा पुगिसकेको छ भने एसियाका केही देशहरुले पनि भित्र्याउन थालेका छन् । यसको ब्राण्ड श्रीलंकाका साथै नेपालमा पनि भित्रन लागेको हो ।
भारतमा क्याम्पाकोलाले गत आर्थिक वर्षमा ४ सय करोड भारुको उत्पादन बिक्री गरेको दाबी गरेको छ । भारतमा औषतमा क्याम्पाकोलाको बजार हिस्सा १० प्रतिशतसम्म रहेको जनाइन्छ । यसको मूल्य पनि अन्य पेय पदार्थभन्दा सस्तो भएका कारण उपभोक्ताको नजर परेको बताइन्छ । भारतमा क्याम्पाकोला आएपछि कोला वार नै सुरु भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्