नेपालको धितोपत्र बजारमा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार प्रवाह गर्ने विषयले करिब एक दशक यता महत्व पाएतापनि यसको सफल कार्यान्वयन हालसम्म पनि हुन सकेको छैन । यसको आवश्यकताका सन्दर्भमा एकमत रहेतापनि आजसम्म सफल कार्यान्वयन हुन नसक्दा बेला बखत यो विषय ओझेलमा पर्ने गरेको छ ।
हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावको आधारमा तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा पुँजीबजार सम्बन्धी १० वटा कार्ययोजनामा मार्जिन कारोवार सम्बन्धी विषय समेत समेटिनुले यसले पुनः प्राथमिकता पाएको छ र अब निकट भविष्यमा नै यसको सफल कार्यान्वयन हुनेमा सबैमा आशा छाएको छ ।
उक्त कार्ययोजनामा “धितोपत्र कारोवारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने” क्रियाकलाप समेटिएको र उक्त क्रियाकलाप एक वर्षभित्र सम्पन्न गर्ने लक्ष सहित जिम्मेवार निकायमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड तथा अनुगमन गर्ने र सहयोगी निकायको रुपमा अर्थ मन्त्रालय तोकिएको छ ।
मार्जिन कारोवारको परिभाषा, आवश्यकता, यसमा प्रयोग हुने मुख्य शब्दावली र लगानीकर्तामा आउनसक्ने जोखिमहरु
लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई कारोवार रकमको निश्चित प्रतिशत भुक्तानी गर्ने रकमलाई मार्जिन भनिन्छ जुन धितोपत्र बजारको नियमन निकायले तोके बमोजिम हुन्छ । लगानीकर्ताले मार्जिन रकम तिरे पश्चात बाँकी रकम धितोपत्र दलाल व्यवसायीले ऋणको रुपमा लिभरेज दिई गरिने धितोपत्र कारोवारलाई मार्जिन कारोवार भनिन्छ ।
मार्जिन ट्रेडिङको आवश्यकताका कारणहरु
सन्तुलित धितोपत्र बजारको विकास
धितोपत्र बजारको तरलतामा बृद्धि
राफसाफ चक्र समयमा नै सम्पन्न गर्न मद्दत गर्ने
लगानीकर्ताको लगानी विविधिकरण हुने
धितोपत्र बजारको स्थायित्वको लागि मार्जिनलाई बोर्डले औजारको रुपमा प्रयोग गर्न सक्ने
धितोपत्र दलालको कार्यक्षेत्र विस्तार र व्यवसायिकतामा बृद्धि
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भइरहेको सेवालाई नेपालको धितोपत्र बजारमा भित्र्याउन आवश्यक
मार्जिन कारोवरमा प्रयोग हुने केही शब्दावली
मार्जिन खाताः मार्जिन कारोवार सेवा लिने लगानीकर्ताले धितोपत्र दलाल कहाँ यस सेवाको लागि नियमनकारी निकायले तोकिदिएको शुरु मार्जिन जम्मा गर्न खोलिएको खाता नै मार्जिन खाता हो ।
प्रारम्भिक मार्जिनः मार्जिन कारोवार सेवा लिई धितोपत्र खरिद गर्ने लगानीकर्ताले धितोपत्र खरिद मूल्यको निश्चित प्रतिशत (नियमनकारी निकायले तोके अनुसार) रकम शुरुमा नै जम्मा गर्नुपर्ने हुन्छ जसलाई प्रारम्भिक मार्जिन भनिन्छ ।
संभार मार्जिन : मार्जिन कारोवार मार्फत खरिद गरेको धितोपत्रको मूल्य घटेमा उक्त मूल्यमा धितोपत्र खरिद गर्न धितोपत्र दलालले प्रवाह गरेको ऋण रकम घटाई कायम हुने रकम धितोपत्रको बजार मूल्यको निश्चित प्रतिशत हुनुपर्ने मापदण्ड नियमनकारी निकायले तोकिदिएको हुन्छ जसलाई मेन्टिनेन्स मार्जिन भनिन्छ ।
मार्जिन कल: मार्जिन कारोवार मार्फत खरिद गरेको धितोपत्रको बजार मूल्य घट्न गएको अवस्थामा लगानीकर्ताले राखेको मार्जिन रकम नियमनकारी निकायले तोकिदिएको मेन्टिनेन्स मार्जिन भन्दा कम हुन गएमा आवश्यक मेन्टिनेन्स मार्जिन कायम गर्न धितोपत्र दलालले लगानीकर्तालाई जानकारी दिने पद्धति नै मार्जिन कल हो ।
लगानीकर्तामा हुने सम्भावित जोखिमहरु
मार्जिन कारोवारबाट लगानीकर्ताले फाइदा मात्र व्यहोर्छन भन्ने होइन । यसबाट घाटा हुने सम्भावना पनि उत्तिकै हुन्छ । यसबाट लगानीकर्तामा हुने सम्भावित जोखिमहरु देहाय अनुसार रहेका छन् ।
मार्जिन ट्रेडिङमार्फत् गरिने कारोवारबाट लगानीकर्ताले सधै नाफा मात्र प्राप्त गर्दछन् भन्ने होइन । धितोपत्रको मूल्य बढेको अवस्थामा मार्जिन ट्रेडिङ मार्फत् लगानी गर्ने लगानीकर्ताले मार्जिन ट्रेडिङ सेवा नलिएका लगानीकर्ता भन्दा बढी नाफा आर्जन गर्दछन् तर धितोपत्रको मूल्य घटेको अवस्थामा मार्जिन ट्रेडिङ सेवा लिएबापत व्याजको रुपमा थप खर्च लगानीकर्तामा पर्ने हुनाले मार्जिन ट्रेडिङ सेवा लिने लगानीकर्ताले मार्जिन ट्रेडिङ सेवा नलिने लगानीकर्ताको भन्दा बढी नोक्सान व्यहोर्नुपर्ने हुन्छ । यसलाई तलको दृष्टान्तले पुष्टि गर्दछ ।
लगानी गरेको धितोपत्रको मूल्य बृद्धि भएको सन्दर्भमा
यदि लगानी गरेको धितोपत्रको मूल्य १० प्रतिशतले बढेको खण्डमा मार्जिन ट्रेडिङ सेवा लिई लगानी गरेका लगानीकर्ताले १४ प्रतिशत (उदाहरणको रुपमा) को प्रतिफल प्राप्त गर्न सक्दछन् भने मार्जिन ट्रेडिङ सेवा नलिई लगानी गर्ने लगानीकर्ताले १० प्रतिशतको मात्र प्रतिफल प्राप्त गर्छन जसको उदाहरण देहाय अनुसार प्रस्तुत गरिएको छ ।
मार्जिन ट्रेडिङ सेवा लिई लगानी गर्दा मार्जिन ट्रेडिङ सेवा नलिई लगानी गर्दा
लगानी गरेको धितोपत्रको मूल्य घटेको सन्दर्भमा
यदि लगानी गरेको धितोपत्रको मूल्य १० प्रतिशतले घटेको खण्डमा मार्जिन ट्रेडिङ सेवा लिई लगानी गरेका लगानीकर्ताले २६ प्रतिशत (उदाहरणको रुपमा) को नोक्सानी व्यहोर्छन् भने मार्जिन टे«डिङ्ग सेवा नलिई लगानी गर्ने लगानीकर्ताले १० प्रतिशतको नोक्सानी व्यहोर्छन् जसको उदाहरण देहाय अनुसार प्रस्तुत गरिएको छ ।
मार्जिन ट्रेडिङ सेवा लिई लगानी गर्दा मार्जिन ट्रेडिङ सेवा नलिई लगानी गर्दा
८ व्याज प्रतिशत र समयावधिको परिवर्तनसँगै नाफा नोक्सान प्रतिशतमा पनि परिवर्तन आउने ।
मार्जिन कर्जा लिई गरेको शेयर कारोवारमा शेयरको मूल्य घटी संभार मार्जिनभन्दा तल आएमा लगानीकर्ताले छोटो समयमा नै थप नगद वा धितोपत्र जम्मा गर्नुपर्ने हुन्छ जसबाट लगानीकर्ताको वित्तीय व्यवस्थापनमा अफ्ठ्यारो पर्नसक्छ र शेयरको मूल्य घटेको अवस्थामा नै शेयर बेच्नुपर्ने कठिन अवस्था समेत आउनसक्छ ।
नेपालको धितोपत्र बजारमा मार्जिन कारोवारको सम्बन्धमा भएका व्यवस्थाहरु
बोर्डले मिति २०७४।०७।१९ मा मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गरेपश्चात धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार गर्न सक्ने कानूनी व्यवस्था भएको थियो । उक्त निर्देशनमा व्यवस्था भए बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५ लागू गरी उक्त कार्यविधि लागू भएको केही वर्ष भित्र नै ३४ धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन अनुमतिपत्र प्रदान गरेको थियो ।
बोर्डले मार्जिन कारोवारमा निहित तरलता जोखिम, संचालन जोखिम, कर्जा जोखिम, बजार जोखिम तथा केन्द्रिकरण जोखिमलाई मध्येनजर गरी मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ मा मुख्य रुपमा देहाय बमोजिमको व्यवस्थाहरु गरेको थियोः
कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनुपर्ने ।
मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति नेटवर्थ कम्तीमा पाँच करोड हुनुपर्ने ।
प्रारम्भिक मार्जिन सूचिकृत संगठित संस्थाको शेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सोको ३० प्रतिशत लिनुपर्ने (निर्देशन जारी गरेको मिति २०७४।०७।१९ मा ५० प्रतिशत रहेको प्रारम्भिक मार्जिन उक्त निर्देशनमा मिति २०७७।०४।११ मा संशोधन भई ३० प्रतिशत तोकिएको) ।
संभार मार्जिन २० प्रतिशत हुनुपर्ने (निर्देशन जारी गरेको मिति २०७४।०७।१९ मा ४० प्रतिशत रहेको संभार मार्जिन उक्त निर्देशनमा मिति २०७७।०४।११ मा संशोधन भई ३० प्रतिशत तोकिएको) ।
लगानीकर्ताले संभार मार्जिन कायम गर्न नसकेमा वा इन्कार गरेमा वा सम्पर्कमा नआएमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद गरेको शेयर मात्र बिक्री गर्न सक्ने ।
धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कारोवार सुविधा दिने श्रोतको रुपमा उक्त संस्थाको आफ्नै श्रोत वा वाणिज्य बैंकसँग रकम सापटि लिएर गर्न सक्ने ।
धितोपत्र दलाल व्यवसायीले नेटवर्थको दुई गुणासम्म मार्जिन कारोवार सुविधा दिन सक्ने ।
एकल ग्राहक (एकाघरको सदस्य सहित) सीमा धितोपत्र दलाल व्यवसायीको नेटवर्थको बढीमा १० प्रतिशत तोकिएको ।
विवरण प्रवाह, लेखापरीक्षण, ग्राहकको परिष्कृत मूल्यांकन, ग्राहकसँग सम्झौता लगायतका व्यवस्था गरिएको ।
बोर्डको स्वीकृतिमा धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने (निर्देशन जारी गरेको मिति २०७४।०७।१९ मा बोर्डको स्वीकृति लिनुपर्ने व्यवस्था नरहेकोमा उक्त निर्देशनमा मिति २०७७।०४।११ मा संशोधन भई बोर्डको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको) ।
मार्जिन कारोवारसँग सम्बन्धमा अन्य छिमेकी देशको मुख्य मुख्य व्यवस्था
भारत
छिमेकी देश भारतमा धितोपत्र बजारको नियमन निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेवी) ले मार्जिन कारोवार सम्बन्धमा सन् २००४ मार्च १९ मा निर्देशन जारी गरी धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार सुविधा दिन सकिने व्यवस्था गरेको थियो । उक्त निर्देशनमा सेवीले २००४ मार्च ३१, २००५ मार्च ४, २०१७ जुन ३१, २०१७ अगष्ट १, २०२२ नोभेम्बर ३० र २०२४ सेप्टेम्बर ११ मा संशोधन गरेकोमा मार्जिन कारोवार सम्बन्धमा भएमा मुख्य व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
प्रारम्भिक मार्जिन ५० प्रतिशत र संभार मार्जिन ४० प्रतिशत हुनुपर्ने ।
लगानीकर्ताको बैंकको मुद्दति खातामा रहेको रकम तथा बैक जमानतलाई समेत प्रारम्भिक मार्जिन र संभार मार्जिनको रुपमा धितोपत्र दलाल व्यवसायीले लिनसक्ने ।
मार्जिन कारोवार मार्फत लगानीकर्ताले सेबीले तोकिदिएका ग्रुप वान धितोपत्र र आईपीओ को धितोपत्रमा लगानी गर्न सक्ने ।
धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ५ गुणासम्म मार्जिन कारोवार कर्जा दिन सकिने ।
एकल ग्राहक सीमा कुल मार्जिन कारोवारका लागि प्रवाह गर्नसक्ने क्षमताको १० प्रतिशतभन्दा बढी हुन नहुने ।
मार्जिन कारोवार कर्जा प्रवाह गर्ने श्रोतको रुपमा धितोपत्र दलाल व्यवसायीको आफ्नै श्रोत वा वाणिज्य बैंक वा गैर बैंकिङ्ग वित्तीय संस्थासँग लिएको ऋण, कमर्शियल पेपर जारी गरी संकलन गरेको रकम, संस्थापक वा संचालकबाट लिइएको दिर्घकालीन कर्जा ।
ऋण लिई मार्जिन कारोवार सुविधा प्रदान गरेको खण्डमा कुल मार्जिन कारोवार मार्फत प्रवाहित रकम ऋण लिएको रकम र नेटवर्थको ५० प्रतिशत भन्दा बढी हुन नहुने ।
अन्य धितोपत्र दलाल व्यवसायीबाट मार्जिन कारोवार गरिरहेको लगानीकर्ताले अर्को धितोपत्र दलाल व्यवसायीबाट मार्जिन कारोवार गर्नु अघि पहिले कारोवार गरेको धितोपत्र दलाल व्यवसायीबाट नो अब्जेक्सन लेटर ल्याउनुपर्ने ।
बंगलादेश
बंगलादेशको धितोपत्र बजारको नियमन निकाय बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (बिसेक) ले १९९९ अप्रिल २८ मा मार्जिन रुल्स १९९९ जारी गरी धितोपत्र दलाल मार्फत मार्जिन कारोवारको शुरुवात भएको थियो । उक्त नियमावलीमा भएका मुख्य व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
प्रारम्भिक मार्जिन सम्बन्धी व्यवस्था बिसेकले समय समयमा तोके बमोजिम हुने जसअनुसार हाल ढाका स्टक एक्सचेञ्जको इन्डेक्सका आधारमा लगानीकर्ताले मार्जिन कारोवारका लागि राख्नुपर्ने प्रारम्भिक मार्जिनको प्रतिशत कायम गर्ने गरिएको छ । हालको व्यवस्था अनुसार प्रारम्भिक मार्जिन र लगानीकर्ताले पाउने कर्जा अनुपात इन्डेक्स ४,००० विन्दुभन्दा तल भएमा १ः०.७५, इन्डेक्स ४,००१ देखि ७,००० को विन्दुमा भएमा १ः०.५० र इन्डेक्स ७,००१ भन्दा माथि भएमा १ः०.२५ रहेको ।
संभार मार्जिनका सन्दर्भमा मार्जिन कारोवारबाट खरिद गरिएको शेयरको बजार मूल्य मार्जिनको रुपमा राखिएको रकमको न्यूनतम १५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको र उक्त मूल्य १२५ प्रतिशत भन्दा कम भएमा मार्जिन कल गर्न सकिने वा शेयर बिक्री गरी न्यूनतम सीमा (१५० प्रतिशत) कायम गर्नुपर्ने ।
लगानीकर्ताले मार्जिनको रुपमा नगद, सरकार वा सरकारी निकायले जारी गरेको धितोपत्र, संस्थागत धितोपत्र राख्न सकिने ।
मार्जिन कारोवारमा खरिद गर्न सकिने शेयरको सन्दर्भमा उक्त शेयरको प्राइस अर्निङ रेसियो ४० भन्दा बढी हुन नहुने तर ३० करोड भन्दा बढी चुक्ता पूँजी भएको तथा स्टक एक्सचेञ्जमा विगत तीन वर्षदेखि क वर्गमा रहेका सूचिकृत संस्थाको हकमा प्राइस अर्निङ रेसियो ५० सम्म मान्य हुने ।
एकल ग्राहक सीमा धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्तिको २५ प्रतिशत रहेको ।
धितोपत्र दलाल व्यवसायीले एउटा धितोपत्रमा आफ्नो खुद सम्पत्तिको १०० प्रतिशतभन्दा बढी रकम कर्जाको रुपमा प्रवाह गर्न नसक्ने ।
बंगलादेशमा मार्जिन कारोवारको शुरुवात धेरै अगाडिबाट भएतापनि यसको नीतिगत व्यवस्थामा धेरै उतारचढाव भइरहेको देखिन्छ । सन् २००७–०९ को विश्वव्यापी आर्थिक मन्दी पश्चात २०१० जनवरी १७ देखि २०११ जनवरी १० को एक वर्षको अवधिमा नै प्रारम्भिक मार्जिन सम्बन्धी व्यवस्थामा १९ पटक संशोधन गरिएको थियो । बंगलादेशमा मार्जिन कारोवार सम्बन्धी नयाँ नियमावली बनाउन एक समिति गठन भई उक्त समितिले २०२५ अप्रिलमा प्रतिवेद पेश गरिसकेको छ । प्रस्तावित नियमावली नै लागू भएको खण्डमा मार्जिन कारोवारमा केही कडाई हुने देखिन्छ । प्रस्तावित नियमावलीको केही व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
न्यूनतम १० लाख बंगलादेशी टाका बराबरको शेयर भएका तथा कम्तिमा छ महिना दोश्रो बजारको अनुभव भएका लगानीकर्ताले मात्र मार्जिन कर्जा लिनको लागि योग्य हुने ।
निरन्तर आम्दानीको श्रोत नभएका लगानीकर्ताको हकमा लगानीकर्ताको नेटवर्थ कम्तिमा २ करोड बंगलादेशी टाका हुनुपर्ने ।
धितोको रुपमा रकम, क वर्गमा सूचीकृत भएका कम्पनीको शेयर, कम्तिमा बीबीबी प्लस रेटिङ्ग भएको संस्थागत ऋणपत्र र सरकारी ऋणपत्रलाई मात्र लिन सकिने ।
मार्जिन कर्जाबाट शेयर खरिद गरेका उक्त व्यक्ति सूचिकृत संस्थाको संचालक हुन नपाउने ।
स्टक एक्सचेञ्जमा क वर्गमा सूचिकृत भई बैंक तथा वित्तीय संस्थाको हकमा एचष्अभ भ्बचलष्लन च्बतष्य २० र अन्य कम्पनीको हकमा एचष्अभ भ्बचलष्लन च्बतष्य ३० भएका शेयर मात्र मार्जिन कारोवारको लागि योग्य हुने ।
लगानीकर्ताले नगद र मार्जिन खाता एउटै निक्षेप सदस्यमा खोल्नुपर्ने ।
पाकिस्तान
पाकिस्तानमा सन् २००४ मा मार्जिन ट्रेडिङ रुल्स २००४ जारी भई मार्जिन कारोवारलाई व्यवस्थित गरिएको थियो भने यस नियमावलीलाई सन् २०११ मा विस्तापित गरी मार्जिन कारोवार सम्बन्धी व्यवस्था समेटिएको सेक्युरिटिज (लिभरेज्ड मार्केट एण्ड प्लेज्डिङ रुल्स २०११ जारी भएको थियो । मार्जिन कारोवारका सम्बन्धमा पाकिस्तानमा भएको मुख्य व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
प्रारम्भिक मार्जिन २५ प्रतिशत रहेको ।
पाकिस्तानको धितोपत्र बजार नियमन निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन अफ पाकिस्तानले स्टक एक्सचेञ्जको सिफारिशमा तोकेको शेयरमा मात्र मार्जिन कर्जा प्रवाह गर्न सकिने ।
श्रीलंका
श्रीलंकामा सर्वप्रथम मार्जिन कारोवारको शुरुवात सन् २०११ मा भएको थियो । श्रीलंकामा मार्जिन कारोवार सम्बन्धमा छुट्टै नियम बनाई कानूनी व्यवस्था भएको छ । पछिल्लो समय उक्त नियम सन् २०२१ मा जारी भएको थियो । मार्जिन कारोवारका सम्बन्धमा श्रीलंकामा भएको मुख्य व्यवस्थाहरु देहाय अनुसार रहेका छन् ।
प्रारम्भिक मार्जिन ५० प्रतिशत रहेको ।
संभार मार्जिन ३० प्रतिशत रहेको ।
मार्जिन कर्जा दिने बजार सहभागीको नेटवर्थ तीन करोड श्रीलंकन रुपैयाँ हुनुपर्ने र तरल पूँजी कुल दायित्वको २.५ प्रतिशत हुनुपर्ने ।
धितोपत्र दलाल र व्यापारीले मार्जिन कर्जा समेत दिने भएमा नेटवर्थ छ करोड श्रीलंकन रुपैयाँ हुनुपर्ने ।
मार्जिन कर्जा दिने बजार सहभागीले नेटवर्थको चार गुणासम्म मार्जिन कर्जा दिन सक्ने ।
एकल ग्राहक कर्जा सीमा कुल मार्जिन कर्जाको १५ प्रतिशत रहेको ।
एकल ग्राहक कर्जा सीमा गणना गर्दा कर्जा लिने व्यक्तिको एकाघर परिवारको सदस्यले लिएको कर्जा समेत गणना हुने ।
सार्क क्षेत्रका अन्य देश र नेपालको मार्जिन कारोवार सम्बन्धी व्यवस्थाको विश्लेषण
सार्क क्षेत्रका अन्य देश र नेपालको मार्जिन कारोवार सम्बन्धी व्यवस्थाको अध्ययन गर्दा देहाय अनुसार रहेको देखिन्छ ।
भारतमा जस्तै नेपालमा पनि निर्देशन मार्फत मार्जिन कारोवार सम्बन्धी कानूनी व्यवस्था गरिएको छ । बंगलादेश, पाकिस्तान र श्रीलंकामा भने मार्जिन कारोवार सम्बन्धी छुट्टै नियमावली रहेको छ ।
प्रारम्भिक मार्जिन, संभार मार्जिन, मार्जिन कर्जा सुविधा प्रदान गर्ने सीमा, एकल ग्राहक सीमा, एउटा शेयरमा मार्जिन कर्जा सुविधा दिन सक्ने सीमा लगायतका विषयहरु अन्य देशमा जस्तै नेपालको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशनमा समेटिएको छ ।
प्रारम्भिक मार्जिन र संभार मार्जिन अर्थतन्त्र तथा धितोपत्र बजारको अवस्था अनुसार नियमनकारी निकायले परिवर्तन गर्ने सन्दर्भमा नेपालमा पनि उक्त व्यवस्थामा विगतमा पनि परिवर्तन भएको देखिन्छ ।
नेपाल, बंगलादेश, भारत र पाकिस्तानमा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार गर्न सक्ने व्यवस्था रहेकोमा श्रीलंकामा भने मर्चेन्ट बैंकर मार्फत समेत गर्न सकिने र मार्जिन कारोवार मात्र प्रदान गर्ने बजार सहभागी समेत हुने गरेको देखिन्छ ।
अध्ययन गरिएको अन्य देशमा जस्तै नेपालमा पनि मार्जिन कारोवार मार्फत खरिद गर्न सकिने सूचिकृत संगठित संस्थाको शेयरको योग्यता सम्बन्धी नीतिगत व्यवस्था धितोपत्र बजारको नियामक निकायले गर्ने र उक्त संस्थाहरुको नामावली स्टक एक्सचेञ्जले प्रकाशित गर्ने गरेको छ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कर्जा प्रदान गर्ने वित्तीय श्रोतको सम्बन्धमा मुख्य रुपमा धितोपत्र दलाल व्यवसायीको आफ्नै श्रोत र बैंकबाट लिएको ऋण देखिन्छ भने केही देशमा कमर्शियल पेपर जारी गर्न सक्ने वा संचालक वा शेयरधनीबाट दीर्घकालिन ऋण लिन सक्ने व्यवस्था रहेको छ ।
विद्यमान चुनौती (किन हुनसकिरहेको छैन नेपालमा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार)
मार्जिन कारोवारका सम्बन्धमा नेपालमा भएको अधिकांश कानूनी व्यवस्थाहरु अन्य छिमेकी देशहरुमा भएका व्यवस्थाहरु जस्तै रहेको छ तथापि नेपालमा धितोपत्र दलाल व्यवसायीहरु मार्फत मार्जिन कर्जा प्रवाह हुन सकिरहेको छैन । केही धितोपत्र दलाल व्यवसायीले यसको लागि अनुमतिपत्र लिएतापनि यो संचालनमा आउन सकेको छैन । यसका प्रमुख कारणहरु देहाय अनुसार रहेको विश्लेषण गर्न सकिन्छ ।
१) श्रोतको अभाव
मार्जिन कारोवार प्रभावकारी रुपमा प्रवाह गर्नका लागि धितोपत्र दलाल व्यवसायीलाई श्रोतको अभाव रहेको गुनासो धितोपत्र दलाल व्यवसायीबाट सुनिदै आएको छ । बोर्डले जारी गरेको मार्जिन कारोवार सम्बन्धी निर्देशन, २०७४ बमोजिम धितोपत्र दलाल व्यवसायीले आफ्नै श्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोवार सुविधा दिन सक्ने व्यवस्था रहेको छ । वाणिज्य बैंकबाट ऋण लिदा धितोबन्दकीको रुपमा मार्जिन कारोवार मार्फत खरिद गरिएको शेयर बन्दकी राख्न पाउनुपर्ने माग अधिकांश धितोपत्र दलाल व्यवसायीको रहेको सुनिन्छ भने लगानीकर्ताको नाममा खरिद भएको शेयर धितोपत्र दलाल व्यवसायीले बन्दकी राख्दा कानूनी जटिलता आउन सक्ने विषय पनि उठिरहेको छ । त्यसैले नेपालमा मार्जिन कारोवार संचालन हुन नसक्नुको एउटा प्रमुख कारणको रुपमा श्रोतको अभाव नै देखिन्छ ।
२) स्पष्ट कानुनी व्यवस्थाको कमी
तोपत्र व्यापारीको रूपमा बोर्डबाट अनुमतिपत्र प्राप्त दुई संस्थाहरूले मार्जिन कारोवार सुविधा प्रदान गर्न चासो देखाइरहेको पाइन्छ । धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पुँजी १ अर्व ५० करोड रूपैयाँ रहेकोले उक्त संस्थाहरूसँग अन्य धितोपत्र दलाल व्यवसायीको भन्दा राम्रो स्रोत समेतको अवस्था छ । ती संस्थाहरूको नेटवर्थको आधारमा भन्ने हो भने ती संस्थाहरूले आफ्नै श्रोतबाट नै करिव करिव पाँच अर्व ९दुवै संस्था गरी० रूपैयाँ बराबरको मार्जिन कारोवार सुविधा दिन सक्ने अनुमान गर्न सकिन्छ । बोर्डले जारी गरेको मार्जिन कारोवार सम्बन्धी निर्देशन, २०७४ मा २०७७।०४।११ मा संशोधन गरी बोर्डको स्वीकृतिमा धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने व्यवस्था गरिएको थियो । साधारतया सम्बन्धित संस्थाले नै कार्यविधि बनाई लागू गर्नुपर्ने व्यवस्था गर्दा मार्जिन कारोबार सहजरूपमा हुन सक्छ । नियमनकारी निकायले नीतिगत व्यवस्था नियमावली वा निर्देशन मार्फत नै गर्ने गरेको र माथि अध्ययन गरिएका देशहरूको मार्जिन कारोवार सम्बन्धी व्यवस्थामा पनि कार्यविधि नियमनकारी निकायले स्वीकृत गर्ने गरी व्यवस्था गरेको पाईदैन त्यसैले यस सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न ढिला गर्नुहुदैन ।
३) चार गुणासम्म कारोवार सीमा दिन सक्ने व्यवस्था
धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताबाट प्राप्त रकमको चार गुणासम्म कारोवार सीमा दिन सक्ने व्यवस्था रहेको सन्दर्भमा यसले पनि मार्जिन कारोवार निरुत्साहित भइरहेको बुझाइ छ । छिमेकी देश भारतमा नै लगानीकर्ताले कारोवार
गर्न १०० प्रतिशत नगद तिर्नुपर्ने वा मार्जिन कारोवार मार्फत गर्न सकिने गरी मात्र दुई विकल्प रहेको देखिन्छ ।
मार्जिन कारोवारको प्रभावकारी कार्यान्वयनका लागि आगामी कार्यदिशा
बोर्डले मार्जिन कारोवार सम्बन्धमा निर्देशन जारी गरी कानूनी व्यवस्था गरिसकेको, नेपाल स्टक एक्सचेञ्ज लि.ले कार्यविधि बनाइसकेको, अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था भई हाल ३४ धितोपत्र दलाल व्यवसायीले अनुमतिपत्र लिइसकेको सन्दर्भमा नेपालमा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार सुविधाको प्रभावकारी संचालनका लागि देहाय अनुसारको व्यवस्था भएमा थप सहज हुने र सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
१) श्रोत व्यवस्थापन
धितोपत्र दलाल व्यवसायीको चुक्ता पूँजी बृद्धिसँगै श्रोतको सम्बन्धमा यस अघिभन्दा थप सहज अवस्था रहेको छ । मार्जिन कारोवारको लागि धितोपत्र दलाल व्यवसायीलाई प्रवाह गर्ने कर्जाका सन्दर्भमा नेपाल राष्ट्र बैंकले केही नीतिगत व्यवस्था गरिदिने हो भने यसमा सहज हुने देखिन्छ । मार्जिन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीलाई कर्जा प्रवाह गर्दा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई प्रदान गरेको कर्जा रकम जुन धितोपत्र दलाल व्यवसायीको वित्तीय विवरणमा एकाउन्ट रिसिभेबल्ब को रुपमा रहेको हुन्छ उक्त एकाउन्ट रिसिभेबल्बको निश्चित प्रतिशत (७० प्रतिशतसम्म) वाणिज्य बैंकले ऋण दिन सक्ने व्यवस्था गर्न सकिन्छ । यस्तो प्रकृतिको कर्जाको जोखिम व्यवस्थापन गर्न धितोपत्र दलाल व्यवसायीको नेटवर्थको निश्चित प्रतिशतसम्म मात्र दिन सकिने, धितोपत्र दलाल व्यवसायीको यसप्रकारको एकाउन्ट रिसिभेबल्ब र कर्जा उपयोगको विवरण बैंकले निरन्तर निगरानी राख्न सकिने व्यवस्था गर्न सकिन्छ ।
२) छिमेकी देशहरुमा जस्तै नेपालमा पनि १०० प्रतिशत नगदमा कारोवार वा मार्जिन कारोवार गरी दुई वटा मात्र व्यवस्था गर्न सकेमा लगानीकर्ता मार्जिनमा कारोवारतर्फ आकर्षित हुने देखिन्छ । यस व्यवस्थाबाट शुरुवाती दिनहरुमा कारोवार
रकममा केही कमी आएतापनि दीर्घकालमा यसले बजारलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
३) मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ लाई समसामयिक बनाउनुपर्ने देखिन्छ ।
अपेक्षित उपलब्धी
धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोवार सम्बन्धी व्यवस्था अधिकांश देशहरुमा प्रभावकारी रुपमा संचालन भएको देखिन्छ । नेपालमा समेत यो विषयले प्राथमिकता पाउनु र यसलाई एक वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्य नेपाल सरकारले नै राख्नुले यो विषय कार्यान्वयन उन्मुख रहेको छ ।
मार्जिन कारोवारमा नियमनकारी निकाय तथा स्टक एक्सचेञ्जले तोकेको सूचिकृत संगठित संस्थाको शेयर खरिद गर्न मात्र धितोपत्र दलाल व्यवसायीले कर्जा प्रदान गर्न सक्ने हुनाले धितोपत्र बजारको सन्तुलित विकासमा मद्दत पुग्ने र आधारभूत रुपमा बजार बलियो भई सर्वसाधारण लगानीकर्ताले यसबाट लाभ लिन सक्ने देखिन्छ । त्यस्तै, मार्जिन कारोवार सुविधाले लगानीकर्तालाई शेयर खरिद गर्न थप लिभरेज दिने हुनाले यसबाट कारोवार रकममा बृद्धि हुने, धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार हुने र सरकारको राजस्वमा समेत बृद्धि हुने देखिन्छ ।
मार्जिन कारोवार गर्दा लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायी दुवैलाई फरक फरक प्रकृतिको जोखिम समेत रहेकोले यसमा एकातर्फ लगानीकर्ता सचेतनालाई थप प्रभावकारी बनाउनुपर्छ भने अर्कोतर्फ अर्थतन्त्रको अवस्था अनुसार नीतिगत व्यवस्थामा समयानुकुल परिवर्तन गरी बजारमा आउनसक्ने जोखिमलाई न्यूनीकरण गर्नुपर्ने तथा धितोपत्र दलाल व्यवसायीको व्यवसायिक क्षमतामा अभिबृद्धि हुनुपर्ने देखिन्छ ।
लेखक, रुपेश के.सी. नेपाल धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक हुन् ।
( यो लेख नेपाल धितोपत्र बोर्डको ३३ औ बार्षिकोत्सव लेखबाट लिइएको हो )
प्रतिक्रिया दिनुहोस्