काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १३.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।
२०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो । यसैगरी, यस अवधीमा वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ७३ हजार ३ सय ७ र २ लाख ३६ हजार ३ सय ९८ रूपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्