काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा देशमा मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्म मूल्य वृद्धि २.७७ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि ४.४० प्रतिशत रहेको थियो ।
यस अवधिमा सबैभन्दा धेरै मूल्य वृद्धि कोशी प्रदेशमा रहेको छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत रहेको छ । यसैगरी, मधेस प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ ।
यसैगरी, यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
१० महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ ।
यसैगरी, तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्