काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई सर्वसाधारण तर्फको सेयर निष्कासन गर्न दिने प्रकृया अघि बढाएको छ ।
उच्च अदालत पाटनले कम्पनीको आईपीओ निष्कासन प्रकृया अघि बढाउन निदएको आदेशको अवज्ञा गरेर बसेको बोर्डले अब भने सर्वसाधारणका लागि सेयर निष्कासन प्रकृया अघि बढाउन लागेको हो ।
अदालतले आईपीओ निष्कासन जारी प्रक्रिया रोक्ने पत्र कार्यान्वयन नगर्न भन्दै २०८१ साउनमा अन्तरिम आदेश दिएको थियो । गत असारदेखि रोकिएको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन पाटनले अन्तरिम आदेश जारी गरेको हो ।
लामो समयदेखि रोकेर राखेको बोर्डले अब भने प्रकृया सुरु गर्न लागेको छ । बोर्डका सह–प्रवक्ता तोलाकान्त न्यौपानेले अदालतको निर्णय प्रकृया अब अघि बढ्ने बताए । यसका लागि आवश्यक प्रकृया अघि बढेको उनको भनाइ छ । अब केही समयमा नै सर्वसाधारणलाई सेयर निष्कासन हुने उनको दाबी छ ।
कम्पनीले संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि २०८० असार २६ गते बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले आईपीओ रोक्का गरेका थिए । बोर्डको उक्त निर्णय लगत्तै कम्पनीले उच्च अदालत पाटनमा सेयर जारी गर्न पाउँ भन्दै रिट दायर गरेको थियो ।
पछि अदालतले बोर्डको निर्णय ‘कार्यान्वयन नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको हो । बुक बिल्डिङ विधि मार्फत योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने क्रममा सेबोनले रोकेको थियो । अदालतले खोल्न आदेश दिएपनि अझै पूर्णता भने पाएको छैन ।
कम्पनीले बुक बिल्डिङ विधि मार्फत योग्य संस्थागत लगानीकर्तालाई संस्थाले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निकालेको थियो । सोही अनुसार सेयर निष्कासन गरेको थियो ।
यता सर्वसाधारणलाई भने ९१२ रुपैयाँमा १० प्रतिशत कम गरेर प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा सेयर जारी गर्न लागेको थियो । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई २०८० माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गरिसकेको छ ।
रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते निष्कासन गरेको हो । बुक बिल्डिङ विधि मार्फत जारी हुने कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर निष्कासन गर्ने छ ।
यो नेपालको धागो उत्पादन गर्ने कम्पनी हो । यो सुनसरीमा छ । कम्पनीले सूति (कटन) धागो, ऊन (उल) धागो, एक्रेलिक धागो, पोलिस्टर धागो उत्पादन गर्दै आएको छ ।
कम्पनीको उत्पादन भारत र टर्कीमा निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्