काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले मौलिक अनुसन्धान र सञ्चार सिद्धान्त विषयमा राष्ट्रिय सङ्गोष्ठी सम्पन्न गरेको छ ।
विभिन्न विशेषज्ञताका माध्यमबाट मौलिक अनुसन्धान र सञ्चारका सिद्धान्तहरुलाई विमर्शात्मक अवधारणामा ल्याउने उद्देश्यसहित सङ्गोष्ठीको आयोजना गरिएको केयूको भाषा तथा आमसञ्चार विभागले जानकारी गराएको छ ।
कार्यक्रममा बुदी लुहुर विश्वविद्यालय, जाकर्ता इन्डोनेसियाकी डा. एनजीएके कुर्निएसरीले अनुसन्धानमा मौलिकतालाई जोड दिनुका साथै पूर्वीय र पश्चिमा दर्शनहरुबीच एकआपसमा सहकार्य हुनुपर्ने बताइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले आफ्नो मौलिकता र मौलिक पहिचानप्रति विशेष जोड दिएर अनुसन्धान गर्नुपर्ने बताए ।
नेपाल विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले नेपालमा विज्ञापनको क्षेत्रलाई पनि मुख्य क्षेत्रको रुपमा अध्यापन हुनुपर्ने बताए ।
विज्ञापन एक प्रभावकारी सञ्चार भएकाले यसमा शैक्षिक अनुसन्धान गरिनुर्पे उनको भनाई थियो । साथै, नेपालमा पब्लिक रिलेसनको क्षेत्र प्रभावकारीरुपमा स्थापना हुन नसकेकोमा हुमागाईंले चिन्ता पनि व्यक्त गरेका थिए । कार्यक्रममा केयूमा मिडिया अध्ययन गरिरहेका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी तथा विद्यावारिधि अध्ययन गरिरहेका शोधार्थीहरुले अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका ३ वटा सत्रमा सञ्चारमा दार्शनिक दृष्टिकोणहरु, नेपाल र एसियामा सञ्चार परम्पराहरु र भाषा, साहित्य र दर्शनसँग सम्बन्धित विषयवस्तु रहेर अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए । साथै, कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ आट्र्स अन्तर्गतको भाषा तथा आमसञ्चार विभागद्वारा प्रकाशित बोधि त्रैमासिक जर्नलको दशौं अंक पनि सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्