Skip to content
Prabhu

‘प्रि–आईपीओ’का नाममा मौलाउँदै ठगीः कर छली, लगानीकर्ता ठगिए

काठमाडौं । सामाजिक सञ्जालमा समूह नै बनाएर ठगी धन्दाका लागि ‘प्रि–आईपीओ’ प्रमोटर समूह, आईपीओ समूह ए लगायतका विभिन्न समूह खोलेर ठगी गर्ने गरेका छन् ।

तर, यस्ता समूहलाई कारबाही गर्ने राज्यका कुनै निकायमा कानुन छैन । जसले गर्दा ठगी गर्ने समूहलाई सजिले भएको छ । यदि तपाईं सामाजिक सञ्जाल त्यसमा पनि ह्वाट्सएप चलाउनु हुन्छ भने त्यहाँ विभिन्न समूहले ठगी धन्दाका लागि प्रि–आईपीओ प्रमोटर समूह, आईपीओ प्रमोटर समूह ए लगायतका विभिन्न समूह खोलेका छन् ।

यस्ता समूहले ठूलो रकम राज्यलाई कर छलेका छन् भने कालोधनलाई सेतो बनाउने काम पनि गरेका छन् । कम्पनी पब्लिकमा जाने कहिले हो अत्तोपत्तो छैन । अहिलेदेखि नै प्रि–आईपीओको नामा ठूलो ठगीधन्दा मौलाएको छ ।

यो अहिले मौलाएको भने होइन । केही वर्षदेखि मौलाएको यो धन्दा अहिले भने बढी फस्टाएको छ । त्यस्ता समूहले सामाजिक सञ्जालमा समूह बनाएर मात्रै होइन फोन नै गरेर पनि ठग्ने गरेका छन् ।

केही दिनअघि एउटा यस्तै समूहमा सूचना आयो हामीले लगानी गर्न सूचित गरेका कम्पनीको सूची भनेर । जसमा होल्डिङ कम्पनी, इन्भेस्टमेन्ट कम्पनी, कृषि कम्पनी, केही हेलिकप्टर कम्पनी, हाइड्रोपावर कम्पनी, सिमेन्ट कम्पनी थियो । सिमेन्ट कम्पनी अहिले धितोपत्र बोर्डको पाइपलाइनमा छ ।

यो कम्पनीको आईपीओ दसैंअघि नै बजारमा आउँछ भनेर प्रि–आईपीओ उठाइएको थियो । अझै आएको छैन । यस्ता कम्पनीको सेयर १२५ वा सोभन्दा बढी मूल्यमा सकेजति पैसा लिएर सेयर भिडाउने गरेका छन् । केही उत्पादनमूलक कम्पनीहरूको सेयर ४ सय रुपैयाँसम्म पनि बिक्री हुने गरेको छ ।

स्ट्रङ कम्पनी, नेटवर्थ १०० रुपैयाँभन्दा बढी भएको, केही समयमा नै आईपीओ निष्कासन गर्न लागेको, धेरै लाभांश दिने कम्पनी भन्दै प्रचार प्रसार गर्ने गरेका छन् । यस्ता ठग्ने समूहले प्रि–आईपीओमा सेयरमा लगानी गर्दा ३ वर्षपछि प्रमोटर सेयरहरू स्वतः सार्वजनिक सेयरमा रूपान्तरण हुने भन्दै आएका छन् ।

सेयरहरूमा लगानी गर्दा कम्पनीको वृद्धिसँगै भविष्यमा सेयरको मूल्य अत्यधिक बढ्न सक्ने, सेयर मूल्यमा तीव्र वृद्धि हुने सम्भावना हुने जसले लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्ने भन्दै सेयर बेच्ने गरेका छन् ।

यस्तै, कम्पनीले राइट सेयर जारी गर्न सक्ने र सेयरधनीलाई छुटमा थप सेयर खरिद गर्ने अवसर दिने समेत भ्रम छर्ने गरेका छन् । सोझा लगानीकर्ता फस्ने गरेका छन् । प्रि–आईपीओको नाममा लगानी गर्ने प्रायः लगानीकर्तालाई कम्पनीले कहिले आईपीओ निष्कासन गर्छ, कम्पनीको संस्थापक सेयर को छन् केही पनि थाहा हुँदैन ।

यसरी प्रि–आईपीओको नाममा बजारमा पैसा उठाएका केही कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ पाइपलाइनको सूचीबाट समेत हटाएको जनाएको छ । प्रि–आईपीओमा लगानी गर्नेले कालो धनलाई सेतो बनाउने माध्यम बनाएका छन् ।प्रि–आईपी ओको नाममा बढी मूल्य तिर्दा राज्यले त्यसबाट पाउने करसमेत गुमाएको छ । बजारमा प्रिमियम मूल्यका कारोबार भएको राज्यका सबै निकायलाई थाहा छ । कतिपय उच्च पदस्थ व्यक्तिका आफन्तहरूसमेत यसबाट ठगिएका छन् ।

तर, पछि कमाउनका लागि अहिले लगानी गर्नुपर्छ भनेर ठगी राखेका छन् । यस्ता समूहलाई कारबाही गर्ने राज्यका कुनै निकायमा पनि कानुन छैन । जसले गर्दा प्रि–आईपीओको नाममा प्रिमियम मूल्यमा पैसा उठाउन सजिलो भएको छ।

प्रभु ग्रुप
केही समययता प्रभु ग्रुपको निकै चर्चा छ । कतिपय लगानीकर्ताहरू प्रभु ग्रुप भनेपछि झुकिनेसमेत गरेका छन् । काठमाडौंको तीनकुनेमा रहेको यो ग्रुपले कृषि, पर्यटन, जलविद्युत्, उत्पादनमूलकलगायत क्षेत्रमा लगानी जुटाइरहेको छ । यो समूहअन्तर्गत रहेका विभिन्न कम्पनीले वार्षिक साधारणसभा गर्ने भन्दै २०८१ भदौ ३ गते सूचना निकालेको थियो ।

त्यो बेला २०८१ असोज २४ गते दिनको ४ बजे सभा गर्ने भन्दै प्रभु होल्डिङ्स एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनीले सूचना निकालेको थियो । त्यही दिन हाइड्रो होल्डिङ्स एन्ड पावर डेभलपमेन्ट कम्पनीले असोज २४ गते ५ बजेका लागि सभा बोलाएको थियो ।

२४ गते ३ बजेका लागि भन्दै प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले सभा बोलाएको थियो । प्रभु केवलकार एन्ड टुरिजम लिमिटेडले सोही मितिमा साढे ५ बजेका लागि सभा बोलाएको थियो । यस्तै प्रभु स्टिल्स एन्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेडले पनि सभा ४ः ४५ बजेका लागि सभा बोलाएको थियो । सभा सबैले कम्पनीको कार्यालय तीनुकनेमा बोलाएका थिए ।

यो समूहअन्तर्गत करिब आधा दर्जन कम्पनी छन् । यो समूहका केही कम्पनीले प्रतिकित्ता १३० रुपैयाँसम्म प्रि–आईपीओ उठाएका थिए । यो समूहअन्तर्गतको प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचनासमेत जारी गरेको थियो ।

प्रि–आईपीओको नाममा निकै चर्चित कम्पनी आरकेही होल्डिङ्सले आईपीओ निष्कासन गर्द भन्दै असार १४ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

यसअघि युनिटीले पनि यसैगरी विभिन्न शिर्षक दिएर पैसा उठाउने गरेको थियो । अहिले प्रिआईपीओको नाममा सेयर उठाएका कम्पनी पनि कतै भविश्यमा युनिटी नै त हुने हैनन् ? भन्ने धेरै लगानीकर्ताको प्रश्न छ । कतिपय लगानीकर्ता यस्ता कम्पनीलाई आईपीओ निष्कासन गर्न दिन नहुने बताउँछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्