Skip to content
Prabhu

“सबै मिलेर हाम्रो साझा पुँजी बजारको विकास र विस्तार गरौ “: राधा पोखरेल

केही समय यता राधा पोखरेल अध्यक्ष रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघलाई सामाजिक सञ्जालमा केही लगानीकर्ताले नकारात्मक टिप्पणी गर्दै आएका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघलाई शेयर बजार विकास भन्दा पनि मूल्य घटेको चिन्ता धेरै छ भन्ने कुरा पनि धेरै नै सुनियो। राधा पोखरेल बाहिर देखाउने पात्र मात्र हुन्, संघ अरूले नै चलाउँछ भन्ने कुरा पनि चिया पसलमा बहस चल्दै आएका कुरा हुन् । यी सबै कुरालाई समेट्दै सुनिल बरालले राधा पोखरेल सङ्ग गरेको कुराकानी :

सर्वप्रथम स्वास्थ्य कस्तो छ ? अनि दिनचर्या कसरी चलिरहेको छ नि ?
म सानै देखि मुटु रोगी र औषधी कै भरमा बाँचिरहेको कुरा सबैलाई थाहाँ नै छ। रगत बाक्लो-पातलो गर्ने औषधि खाएर महिना-महिनामा सहिद गङ्गालाल हृदय रोग केन्द्र धाएर बाँचेकी छु । प्रत्येक महिना मेरो मुटु चेक-अप गर्नुपर्ने हुन्छ तर आजभोलि शेयर बजार विकास र विस्तारका लागि अलिक धेरै नै समय दिनु परेर होला राम्रो सँग आफ्नो ख्याल गर्न पनि पाएकी छैन ।

सुन्नुस् न यो अहिले नेप्सेले ल्याएको प्रणाली पूर्ण अनलाइन हुँदै होइन । पूर्ण अनलाइन भनेको त शेयर बेचेको  खातामा पैसा र किन्नेको डिम्याटमा शेयर जानु पर्ने हो नि त्यो पनि स्वचालित हिसाबमा ।

अझ चिसो महिनामा आफूलाई एकदम ख्याल राख्नुपर्ने हुन्छ, तर यही समयमा बजारमा बेला बेलामा लगानीकर्ताले धेरै समस्या भोगिरहेका अवस्था छ । त्यसैले  दौडधुप अलिक धेरै नै गर्दा पूर्णरुपमा स्वस्थ भने हुन सकेको छैन। एक पटक समय मिलाउन नसकेर शरीरमा समस्याहरू आउँदा झन्डै हस्पिटल नै बस्नु परेको थियो । बिरामी हुँदा हुँदै पनि दिन-रात लगानीकर्ताको लागि आफ्नो समय दिँदा र यस्तो स्थितिमापनि बेला बेलामा सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेरेर मानसिक बिरामी नै बन्न पुग्छु जस्तो लाग्छ कुनै बेला । आँखामा सागर र मुटुभित्र “सुनामी” उर्लिएर मलाई सहन निकै गाह्रो हुन्छ  तर म  हिम्मत हार्दिन । म हिम्मत हार्ने नारी पनि होइन । यसबाट म “एकइञ्च” पनि पछि हट्ने छैन । जीवन आफूले सोचेजस्तो सरल रेखामा कहिल्यै हिँड्दैन । सधैँ बक्र रेखामा हिँड्ने गर्छ भन्ने पनि मैले नबुझेकी भने होइन ।

यो पुरूषप्रधान समाज यति ढोँगी, अमानवीय छ कि भन्न पनि सरम लागेर आउँछ । यसको अर्थ मैले पुरुषहरूको विरोध गरेकी होइन, पुरूषप्रधान प्रवृत्तिको विरोध गरेकी हुँ । एउटा नारीले पुँजी बजारको एउटा संघको
नेतृत्व गरेको केही लगानीकर्तालाई चित्त नबुझेको हुन सक्छ। समभाव र समान अधिकारसहित सँगसँगै मिलेर समाजलाई अघि बढाउनुको कुनै विकल्प छैन तर हाम्रो देशका ‘अजासु’ भनाउँदा ( अति जान्ने सुन्ने ) को चेतना स्तर हेर्दा दया नै लागेर आउँछ । हुन त भनिने गरिन्थ्यो ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन । बल्ल हो रहेछ भन्ने लाग्न थाल्यो ।

एभरेस्ट इन्स्योरेन्सको मामलामा लगानीकर्ताको प्रतिनिधित्व गर्दै नेप्से जानु भयो, लगानीकर्ताको जित भयो भन्न मिल्छ ?
लगानीकर्ताको जित हार भन्दा पनि जहाँ सम्म एभरेष्ट इन्स्योरेन्सको कुरा गर्नु भयो हाम्रो संघलाई लागेको डर के भने  “बुढी मरी भन्दा पनि काल पल्कियो ” । यस इन्स्योरेन्सको सन्दर्भमा जहाँ सम्म नेप्सेले गरेको मूल्य समायोजन,  तत्पश्चात् हाम्रो संघ सहितको नेप्से सँगको भेटघाट पछिको पुन:मूल्य समायोजन, त्यस पछि बजारले अझ भनौ लगानीकर्ताको सेन्टिमेन्टलले गरेको थप मूल्य निर्धारण, यी सबै पाटो केलाउने हो भने यस मामलामा बजार आफै परिपक्व छ र यस्ता विषय बजारले नै तय गर्दै लानेछ भन्नेमा हाम्रो संघ निष्कर्षमा पुग्यो ।

 ➤अहिलेको अनलाइन कारोबार प्रणालीको बारेमा तपाइको धारणा के छ ?
बरालजीले बडो जटिल र समसामयिक प्रश्न सोध्नु भयो । जटिल यस मानेमा कि यो अनलाइन कारोबार प्रणाली भन्ने बित्तिकै प्राविधिक पाटो हो। त्यस विषयमा मैले प्रवेश गर्न चाहिन । दोस्रो कुरा लगानीकर्तालाई यति धेरै वर्ष सम्म झुलाएर ल्याइएको प्रणाली यस्तो झुर हुन्छ त ? तपाईँ आफैभन्नुस न !

अहिले ५० वटा व्रोकरले चलाउँदा त यस्तो पारा छ भने हामी करिब १५ लाख लगानीकर्ता अझ अनलाइन पूर्ण रूपमा कार्यन्वायनमा भइसके पश्चात थप हुने लगानीकर्तालाई हाम्रो देशमा रहेको विद्यमान इन्टरनेटले धान्ला जस्तो लाग्दैन मलाई । अब  सरकारले यो अनलाइन संगै हाई स्पिडको इन्टरनेटको व्यवस्थापनि मिलाउनु पर्छ ।

अब रह्यो कुरा फोरमको सङ्ख्या दिन दिनै बढ्दै छ भन्ने , यसलाई मर्ज गरौँ भन्ने कुरा आफैमा राम्रो हो । म पनि मर्जको पक्षपाती नै हुँ । 

पूर्ण स्वचालित अन्लाईन प्रणाली भनिन्छ तर लगानीकर्ताले आफ्नो क्लिकमा शेयर किन बेच गर्न पाएका छैनन् यस बारे के भन्नु हुन्छ , मैले तपाईँलाई यो प्रश्न किन सोधेको भन्दा तपाईहरु यही विषयमा नेप्से जाँदै आउँदै हुनुहुन्छ ?

सुन्नुस् न यो अहिले नेप्सेले ल्याएको प्रणाली पूर्ण अनलाइन हुँदै होइन । पूर्ण अनलाइन भनेको त शेयर बेचेको  खातामा पैसा र किन्नेको डिम्याटमा शेयर जानु पर्ने हो नि त्यो पनि स्वचालित हिसाबमा ।  जस्तै   शेयर अनलाइनबाट बेचियो रे तर चेक लिन फेरि ब्रोकरमा नै धाउनु पर्ने सिस्टमलाई पूर्ण अनलाइन भन्न सकिँदैन ।

यस विषयमा केही दिन पहिला हाम्रै नेतृत्वको टोलीले नेप्से प्रमुख चन्द्रसिंह साउद ज्यू सँग भेटेर कुरा गरेको अवस्था थियो । यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ । क्लियरिड: बैङ्क थप्ने प्रक्रियामा नेप्से छ  । बिस्तारै हामीहरु ब्रोकर  अफिस धाउनु नपर्ने अवस्था सिर्जना गर्न नेप्से लागेको जानकारी हामीले पाएको अवस्था हो  । अब प्रतीक्षा गरौँ ।

➤पूर्ण स्वचालित अनलाइन कारोबार नभएको अवस्थामा आन्दोलन गर्ने हो ?
आन्दोलन नै गर्नु पर्ला भन्ने त मलाई लाग्दैन । तर हामीले विगतका इतिहास केलाउने हो भने पनि परम्परा नै यस्तो  बसिसकेको छ की जुन सुकै सरकार बने पनि हाम्रा  जायज माग पुरा गराउन पनि आन्दोलन गर्नु परिरहेकै हुन्छ, चाहेँ  त्यो जुन सुकै क्षेत्रमा होस । तर त्यो अवस्था आउँदैन भन्ने कामना गरौँ। त्यस्तो अवस्था आयो भने हामीले भन्नै पर्दैन  लगानीकर्ताले आफै आन्दोलन गर्ने छन्।

➤ बजारमा हल्ला सुनिन्छ की तपाईहरु पूर्ण स्वचालित अनलाइन प्रणाली को विकास नभएर तपाइहरूलाई चिन्ता भएको होइन की शेयरको मुल्यघटेर चिन्ता भएको हो ?
हेर्नुस् , भन्नेको मुख थुन्न सकिँदैन । भन्नेले त जे पनि भन्छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघ नेप्सेमा बजार बढाइदिनु पर्‍यो भन्दै पुग्यो भनेर हल्ला आउँछन् । आखिर हामी त अनलाइन आएको पनि १५ दिन भइसक्दा पनि किन राम्रो सँग नचलेको हो भन्ने बिषयमा गएका थियौ नि ! होइन र ? हाम्रो विज्ञप्ति हेर्नुस् त ! त्यो कुरा हामीले नेप्से प्रमुख ज्यू लाई बुझाएको विज्ञप्तिले पनि स्पष्ट पारेकै छ । त्यसैले अब आफै भन्नुस् न हामी सेयर मूल्य घटेर चिन्ताले गएका हौ की अनलाइनको चिन्ताले गएका हौ त ?

➤अहिले हाम्रो पुँजी बजार सानो छ , फोरमको सङ्ख्या दिन दिने वृद्धि हुँदै छ, सबै फोरमको मर्ज गर्दा हुन्न र भन्या ?

बरालजी, नेपालको पुँजी बजारलाई सानो भन्न मिल्दैन । किनकि यहाँले दुई वर्ष पहिला फर्केर हेर्नु हुन्छ भने यो २२ खर्बको मार्केट हो । अहिले आएर यसलाई सानो बनाउन  खोजिएको  मात्रै हो । अब रह्यो कुरा फोरमको सङ्ख्या दिन दिनै बढ्दै छ भन्ने , यसलाई मर्ज गरौँ भन्ने कुरा आफैमा राम्रो हो । म पनि मर्जको पक्षपाती नै हुँ । तर हाम्रा साझा मुद्दामा हामी कहाँ रहेका तीन वटै  सङ्घहरू एक भएर जाने गरेकै छौ । विशेष गरी मैले नेतृत्व गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघको आगामी भावी योजनामा यसै आ. व. भित्रमा सातै प्रदेशमा पूँजीबजार सम्बन्धी जनचेतना फैलाउने र आगामी आ.व. भित्र ७७ वटै जिल्लामा जिल्ला स्तरीय कार्यक्रम गर्ने भन्ने छ ।

➤ तपाईँ त एउटा देखिने पात्र मात्र हो रे, तपाईँहरूको संघ बाहिर बाट चल्छ भन्ने सुनिन्छ नि ! यसमा के भन्नु हुन्छ ?

हा! हा! हा! अन्तिममा आएर बरालजीले  मलाई धेरै नै हँसाउने प्रश्न गर्नु भयो । तपाईँ जस्तो व्यक्तिले यस्ता कुरा पत्याउन मिल्छ ?  मैले भनिसके नि (अति जान्ने सुन्ने ) बिच आफूलाई स्थापित गराउन चानचुने कुरा कहाँ  छ र ?

हेर्नुस् हाम्रो केन्द्रीय कमिटी ७ जनाको छ । प्रत्येक प्रदेशमा संयोजक र सह-संयोजक गरी १४ जनाको सङ्ख्या छ । त्यस पछि झन्डै २०/२२ जिल्लामा जिल्ला संयोजक र सह-संयोजक बनिसकेको छ । हाम्रो सङ्घमा ठुलो सङ्ख्यामा साधारण सदस्यहरू हुनुहुन्छ । यसरी बनेको संघ मलाई लाग्छ नेपालको पुँजी बजारको इतिहासमा नै पहिलो हो । यस्तो बलियो संघलाई बाहिरबाट कसैले चलाउने आँट गर्ला त ? हाम्रो प्रत्येक निर्णय हुनु अगाडी कोर टिममा छलफल हुन्छ । त्यसपछि बहुमतले गरेको निर्णयलाई हामी  प्रदेश र जिल्ला सम्म पुर्‍याउने गर्छौ । त्यसैले यहाँले पाल्नु भएको भ्रम आजैबाट  हटाउनु हुन अनुरोध गर्दछु । संघ कसैको दबाबमा र एकल निर्णयमा चल्दैन संघ बहुमतिय पद्धति बमोजिम नै चलेको छ र चल्दै पनि जानेछ ।

 सानो होस या ठुलो काम गर्न सोचेको जस्तो सजिलो छैन । म जुन रूपमा यहाँसम्म आएँ, यसबिचमा मलाई धेरै नै बाधाहरू आए । अझै कति आउने हुन थाहा छैन । बाधा विरोध आउनु राम्रो पनि हो।  यसले एउटा मानवलाई धेरै नै परिपक्व बनाउँछ।  नारीप्रतिको शोषण आज पनि विभिन्न प्रकृति र स्वरूपमा आ-आफ्नै शैलीसहित समाजमा प्रकट भइरहेका छन् । तर म यसबाट डराएर भाग्ने नारी भने होइन। यो कुरा लेखेर राख्दा पनि हुन्छ।

 ➤अन्त्यमा के भन्न चाहनु हुन्छ ? 
पुँजी बजार विकासका लागि हात फैलाउँदै र आफ्नै पैसा जोगाएर कार्यक्रम गर्दै हिँड्न खोज्दै छु। सामाजिक सञ्जालमा पुँजी बजारको विकास तथा विस्तारको लागि सकारात्मक दबाब सँगै हातमा हात, साथमा साथ दिएर अाउनुहोस हाम्रो पुँजी बजारको भविष्य सुनौलो छ, यसलाई सबै मिलेर मल जल गर्ने काम गरौँ। 

जुन मानिसले राम्रो कामको सही मूल्याङ्कन गर्न सक्दैन, त्यो समाज आवरणमा जति नै आधुनिक र भव्य देखिए पनि, मान्छेहरू जति नै सभ्य र शिष्ट देखिए पनि अन्ततः त्यो पाषाण समाज हो र त्यस्तो समाजका मान्छेहरू दुई खुट्टे पशु हुन् । तसर्थ, मेरो विनम्र अनुरोध छ- यदि राम्रो काम गर्न सकिँदैन भने नराम्रो पनि नगरौ  । मानव हुनुको परिचय स्थापित गरौँ ।

हाम्रो शेयर बजार काठमान्डौमा मात्र सीमित छ भन्दा म गलत हुँदिन होला। उपत्यका बाहिरका केही प्रमुख सहरमा मात्र हाम्रो पुँजी बजार विस्तार भएको छ।  अन्लाईन कारोबार प्रणालीले बिस्तारै पूर्ण रूप लिँदै छ। बैङ्कले ब्रोकर लाइसेन्स पाउने कुरा चल्दै छ।  बजारको भविष्य राम्रो छ र यसलाई कसरी प्रभावकारी हिसाबमा अगाडी लाने त्यो हामी सबैको  हातमा  छ। आउनुहोस सबै  मिलेर हाम्रो साझा पुँजी बजारको विकास र विस्तार गरौ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal