हालसालै सन् २०१७ मा अमेरिकी लगानीकर्ताहरुमा आधारित फेडलीटी इन्भेस्टमेन्टले गरेको एक अध्ययनमा पुरुषहरुको तुलनामा महिलाहरुको प्रतिफल ०.४% ले बढी हुन्छ भनि देखिएको छ ।
माधवी लामिछाने, न्यूयोर्क
सन् २००१ को “Boys will be boys: Gender, Overconfidence, and Common stock investment” भन्ने लेखमा Barber, B. M. and Odean, T. लेख्दछन् “खास गरी पुरुष प्रधान भानिएका क्षेत्रहरु जस्तै वित्त वा शेयर बजारमा, पुरुषहरु महिलाको तुलनामा बढी ओभर-कन्फीडेन्ट हुन्छन् ।” यिनै लेखकहरुद्वारा नै सन् २००० मा लिखित एक अर्को लेखमा, “ओभर-कन्फीडेन्टले धेरै शेयर कारोबार (किन-बेच) गराउन उत्प्रेरित गर्दछ र यसका कारणले व्यक्तिगत लगानीकर्ताहरु ठुलो मूल्य चुकाइ रहेका हुन्छन् त्यसैले ओभर-कन्फीडेन्टका कारणले वा अन्य कुनै कारणले शेयरको धेरै किन-बेच गर्नु धन आर्जनको निम्ति हानिकारक हुन्छ” भनेका छन् ।
हालसालै सन् २०१७ मा अमेरिकी लगानीकर्ताहरुमा आधारित फेडलीटी इन्भेस्टमेन्टले गरेको एक अध्ययनमा पुरुषहरुको तुलनामा महिलाहरुको प्रतिफल ०.४% ले बढी हुन्छ भनि देखिएको छ । त्यस्तै, वारविक बिजनेश स्कुलले गरेको एक अध्ययनका अनुसार महिलाहरु थोरै पटक शेयर किनबेच गर्दछन् तथा एकपटक किनेका शेयरहरु लामो समयसम्म राखी रहन्छन् भनिएको छ । साथै, फिन्नीश इन्भेस्टर्सले महिलाहरुलाई सुपेरियर ट्रेडरको दर्जा दिएको छ ।
यसरी विभिन्न आध्ययनहरु महिलाहरुप्रति सकारात्मक देखियतापनि विश्व वित्त बजार तथा नेपाली शेयर बजारमा महिला लगानीकर्ताहरुको उपस्थिति किन न्युन हुन्छ? किन महिलाहरु पुरुषको तुलनामा आफुलाई कम जानकार ठान्छन? किन महिलाहरुमा वितिय बजार सम्बन्धि डरको भ्रम ब्याप्त छ ? यी सवै प्रस्नहरु यतिबेला बहसको मुद्दा हुन । महिलाहरुलाई संसारमा सबै ब्यतिहरुको पहिलो शिक्षिकाको रुपमा लिइन्छ – यधेपी उनीहरु नै वित्त-शिक्षा वा वित्त-संचालनमा किन पछि परिरहेका हुन्छन्? भन्ने प्रश्न एक गहन अध्ययनको बिषय हुनु पर्दछ । महिलाहरुलाई वित्त सम्बन्धि ज्ञान हुनु किन आवश्यक छ र कसरी शेयर बजारमा महिलाहरुले लगानी सुरु गर्न सक्दछन् भन्ने यहाँ दर्साउन खोजिएको छ ।
पुरुषको तुलनामा अधिकांस महिलाहरुको कार्यकाल मातृत्व तथा पारिवारिक उत्तरदायित्वको भूमिकाले छोटो रहनु, काममा ब्याप्त आर्थिक लैङ्गिक असमानता, अपरिवर्तनवादी बचत प्रणाली – जस्तै, सुन खरीद-बिक्री, नगद संचय तथा व्यक्तिगत सापटी प्रणाली, खुत्रुके संचय प्रणाली, तथा वितिय अशाक्षरता आदि ले गर्दा महिलाहरुमा आम्दानीको श्रोत तथा भएको पुंजी पनि मुद्रा-इस्फृतिको कारणले घट्ने प्रक्रियामा चलिरहेको हुन्छ । यस्तो बिधमान अवस्थामा महिलाहरुसंग भएको पूंजीलाई सहि ब्यबस्थापन गर्नु एक चुनौतीको बिषय हो । त्यसैले, समयमा नै आफुसंग भएको सानो पुँजीको केहि अंशलाई वित्तीय (शेयर) बजारमा मध्यकालीन तथा दिर्घकालिन लगानीको रुपमा सक्रीय गराउनसके आम-महिलाहरुलाई तुलनात्मक रुपमा आर्थिक स्वतन्त्र हुन सक्ने सम्भावना हुन्छ । शेयर बजारमा आवद्ध भएर आवश्यक शिप तथा ज्ञानहरु सिक्दै जाने क्रममा सो क्षेत्रका दक्ष र अनुभवी लगानीकर्ताहरुसंग नेटओर्क बढाई नयाँ-नयाँ विषयहरुमा छलफल तथा एक-अर्काबाट सहयोग आदन-प्रदान पनि गर्न सकिन्छ ।
आखिर शेयर बजारमा लगानीको शुरुवात गर्नको लागि आफुलाई कसरी तयार गर्ने त? भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ । निश्चिन्त हुनुहोस, शेयर बजारमा लगानीको शुरुवात गर्नको लागि न त धेरै पैसाको आवश्यकता पर्दछ न त शेयर बजारको बारेमा धेरै विज्ञता हासिल गर्न जरुरी हुन्छ । धेरैले सोचे जस्तो सवै लगानीकर्ताहरु सम्पूर्ण विषय बस्तुमा निपुर्ण हुँदैनन् यो त एक निरन्तर चलिरहने प्रक्रिया हो जहाँ काम गर्दै र सिक्दै जान सकिन्छ । तर, सुरुवात चाही कसरी गर्ने भन्ने कुरामा विशेष ध्यान दिनु पर्दछ । जस्तै:
१. नियमित बचत गर्ने बानी बसाउने ।
२. बचत गरेको केहि रकम पहिले इमर्जेन्सी फण्ड वा भैपरी आउने खर्चको लागी छुट्याउने ।
३. सम्पूर्ण किसिमका ऋण मुक्त हुने ।
४. लगानीको लागि आफुलाई चाहिने पर्याप्त सूचना, तालिम-कार्यक्रम, तथा पठन-पाठनमा सहभागी गराउने ।
५. आफुलाई सुहाउने लगानीका उद्देश्यहरु तय गर्ने र सोहि अनुरुप लगानी रणनीति तयार गर्ने ।
६. नियमित बचत मध्ये प्रत्येक महिना बचतको केहि निश्चित रकम निरन्तर शेयर बजारमा लगानी गर्ने ।
७. आफ्नो लागानीको पोर्टफोलियो समय-समयमा मुल्यांकन तथा परिवर्तन गर्दै जाने ।
८. आफुलाई थाहा नभएको कुराहरु तालिमबाट वा साथीभाई तथा सम्बन्धित ज्ञाताहरुसंग सोध्न नहिच्किचाउने ।
अन्त्यमा, वित्तीय शिक्षा तथा शेयर बजारको ज्ञान वा शेयर बजारमा लगानी एक निरन्तर प्रक्रिया भएको हुनाले आवश्यक आधारभूत जानकारी लिई लगानीको प्रक्रियामा सामेल हुनु राम्रो हुन्छ र लगानी धेरै रकमको गर्नु पर्छ भन्ने जरुरि हुँदैन । १० कित्ता शेयर किन्नु र १००० कित्ता शेयर किन्नुमा मूलतः यसका प्रक्रियाहरुमा केहि फरक हुँदैन । तर, स्मरणीय होस्, सम्पूर्ण लगानीमा जोखिमको सम्भावनालाई नकार्न भने मिल्दैन त्यसैले आफुले जोखिम सहन सक्ने रकमको मात्र लगानी गर्नु पर्दछ । यसका साथै, लगानीकर्ताले छोटो समयको शेयर बजारमा हुने उतार-चढाव भन्दा पनि दिर्घकालिन बृद्दिमा ध्यान दिनु पर्दछ र आफ्नो लगानी रणनिती सोहि हिसाबले बनाउदै र पुरंमुल्यांकन गर्दै जानु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्