Skip to content
Prabhu

“पुँजी बजारको विकास र विस्तारको लागि अध्यक्षको जिम्मेवारी पाएकी हुँ”; संरक्षणा चौधरी

नेपाल पूँजीबजार संघले आफ्नो नवनिर्वाचित अध्यक्ष र संचालक समितीका सम्पुर्ण सदस्यहरुलाई सम्मान एवं स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघको नवनिर्वाचित अध्यक्षका रुपमा युवा लगानीकर्ता संरक्षणा चौधरी मनोनित भएकी छिन भने उपाध्यक्ष तर्फ दुर्गा काफ्ले, महा-सचिवमा सन्जिब साही, सचिवमा विशाल कडरिया, कोषाध्यक्ष तर्फ सङ्गिता सुवेदी, प्रमुख सल्लाहकारमा संघका पुर्व अध्यक्ष नवराज सुवेदी र राजन श्रेष्ठ रहेका छन भने सदस्य तर्फ क्रमश कन्चन लामा, सरोज पुरी र पवन यादव रहेका छन् ।

युवा लगानीकर्ता तथा नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी संग लगानीन्युजले गरेको कुराकानी :

➤यति धेरै संघ छन्, अरु संघ भन्दा तपाईहरुको संघ कसरी फरक छ ?
संघ खासमा भन्नू पर्दा थोरै नै छन् । यति धेरै लगानीकर्ताहरुको आवाज उठाउनका लागि ४/५ वटा संघ प्रयाप्त छैनन् । अन्य संघले जसरी पूंजीबजारको विकास र विस्तारका लागि आवाज उठाउँदै आएका छन्  त्यो पक्कै पनि हाम्रो संघले पनि उठाउने नै छ तर त्यो बाहेक संघले देशभर छरिएर रहेका युवा तथा महिला लगानीकर्तालाई पुँजीबजार सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि थप पूंजी भित्र्याउन पहल गर्ने छ भने वित्तिय साक्षरतालाई पनि उतिकै जोड दिने भएको हुँदा पक्कै पनि हाम्रो संघ अरु संघ भन्दा फरक छ र हुनेछ पनि  ।

हाम्रो पहिलो प्राथमिकता महिला तथा युवा लगानीहरुलाई शेयर शिक्षाबारे जनचेतना दिनु हो । 

चर्चित हुन संघको अध्यक्ष बन्नु भएको त होइन नी !
चर्चित हुने ठाउँ थुप्रै छन, त्यसको लागि संघकै अध्यक्ष हुनु पर्छ जस्तो लाग्दैन मलाई। समाज  र सामाजिक  क्रियाकलाप मा रुचि राख्ने भएको कारण पनि मलाइ चिन्ने थुप्रै छन्  । पुँजी बजारको विकास र विस्तारको लागी र केही सकारात्मक परिवर्तनका लागि अध्यक्षको जिम्मेवारी लगेको हो। “चर्चित हुन हो की काम गर्न हो” यो कुरा समयले देखाईहाल्छ नी , होइन र ?

संघमा बसेर निष्क्रिय हुनु भनेको आफ्नो लागि आफै खाल्डो खन्नु झै हो ।

 संघ धेरै भएनन र भन्या, यसरी छरिएर संघ खोल्दा पुँजी बजारका साझा मुद्धा सम्बोधन होलान त ?
प्रश्नको उतर सुरुमै भनेको नै छु । लगानीकर्ता जति बढ्दै जान्छन त्यति नै संघहरु थपिदै जान्छ्न र सबैको सोच एउटै हुन्न पनि । तर संघले कुन क्षेत्रलाई प्राथमिकता दिएर कार्य गर्छ भन्नेमा भर पर्ने कुरा हो । “एक थुकी सुकि,सय थुकी नदि” उखान नै छ। संघहरुले पूंजीबजारको विकास र विस्तार सम्बन्धि जति पहल गर्छन त्यति नै राम्रो हो । चौतर्फी रुपमा लगानीकर्ताहरुले साथ दिए भने बजारका साझा मुद्दा पक्कै पनि सम्बोधन हुन्छन  ।

 तपाईहरुको टीम कस्तो छ ! उपाध्यक्ष तपाईहरुको पहिलो कार्यक्रममा हुनुहुन्थ्यो नी ! किन हो ?
टिम आजको मितिसम्म आइपुग्दा राम्रै भइरहेको छ। अध्यक्ष भएका कारणले गर्दा पनि कुनै कार्यमा अघि बढ्नु पुर्व टिमको सबै सङ्ग सम्बन्धित बिषयमा छलफल पछि मात्रै निर्णय लिने गरिन्छ । संघले औपचारिक रुपमा गरेको कार्यक्रममा उपाध्यक्ष उपस्थित हुनु भएको थिएन । उहाँको केही समय अघि मात्रै दुर्घटनाका कारण खुट्टामा चोट लागेको थियो । तर आगामी दिनमा संघले गर्ने कार्यक्रममा परिस्थिति अनुरुप उहाँको उपस्थिति भने पक्कै हुनेछ ।


भविष्यमा के के योजना छन् ? संघमा आवद्ध भएर निस्क्रिय हुने, नेप्से,सेबोनको कार्यक्रममा खादा लाउने काम मात्र त हुँदैन  नी ? 
आगामी दिनहरुमा संघ योजना अनुरुप अरु भन्दा फरक ढंगले अघि बढ्ने छ। हाम्रो पहिलो प्राथमिकता महिला तथा युवा लगानीहरुलाई शेयर शिक्षाबारे जनचेतना दिनु हो ।

संघमा बसेर निष्क्रिय हुनु भनेको आफ्नो लागि आफै खाल्डो खन्नु झै हो । कार्यक्रमहरुमा बोलाएर कसैले खादा लगाउँछ भने त्यसलाई अस्विकार गर्न सकिन्न, अस्विकार गर्नु भनेको दुई पक्ष बिच दरार पैदा गर्नु हो । अन्त्यमा एकै वाक्यमा भन्दा संघले पूंजीबजार र लगानीकर्ता कै पक्षमा सधै कार्य गर्नेछ । 

तत्कालै तपाईहरुको संघले के कस्ता काम गर्छ ? बुदागत रुपमा सुनौ न ?

हाल संघले गर्ने कार्यहरु यस प्रकार छन् :
१.  शेयर बजार सम्बन्धि जनचेतना फैलाउने जसका लागि संघले छिट्टै नै आफ्नो कार्य थालनी गर्ने छ । 
२.  बैंक वा ब्रोकरको सहयोगमा बजारमा लगानी गर्न इच्छुक तर श्रोत र साधनबाट टाढा भएकालाई डिम्याट            खाता, आस्वा सिस्टम, सि.आर.एन. नम्बर, मेरो शेयर लागिन आदिबारे जानकारी उपलब्ध गराइने  ।
३.   वित्तीय  साक्षरता सम्बन्धि कार्यक्रमहरु तिब्र रुपमा अगाढी बढाउने  । 
४.  लगानीकर्ताहरुको हकहितका लागि अन्य संघहरु सङ्ग हातेमालो गरेर अगाडि बढ्ने  ।


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा, ब्रोकर कमिसन अझै घटाउनु पर्ने कुरामा, सरकारबाट पुँजी बजार सम्बन्धि स्पष्ट धारणा आउनुपर्ने कुरामा, देशमा छरिएर रहेका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर थप पूंजी बजारमा कसरी ल्याउन सकिन्छ भन्ने बारे नेप्से, धितोपत्र बोर्ड, बैंक, ब्रोकरहरुलाई विभिन्न संघहरु तथा लगानीकर्ताहरु मिलेर ध्यानाकर्षण गराउन हामी छिटै अग्रसर हुने छौ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal