काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । गतवर्षको तुलनामा २७.६ प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ४ हजार ३७ रहेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता.४१ अर्ब २१ करोडले घाटामा रहेको थियो ।
पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब १० अर्बे बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो ।
२०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा रु.१७६७ अर्ब ४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्