Skip to content
Prabhu

त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग र बिमा प्राधिकरणबीच समझदारी

 

काठमाडौं । नेपाल बिमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बिमासम्बन्धी अनुसन्धान गर्नेसम्बन्धी समझदारी भएको छ ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले एक समारोहकाबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा नेपाल बिमा प्राधिकरणले बिमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र  अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।

देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बिमा क्षेत्रको विकास, बीमा समावेशिता, बिमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरिवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समझदारीबाट देशको बिमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले बिमासम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्तसमेत गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले समझदारी अनुरूप  बिमासम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal