Skip to content
Prabhu

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

बाँके । लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा १५ लाख रुपैयाँको कारोबार भएको छ ।  
प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवद्र्धनलगायतका प्रदर्शनी कक्ष राखिएको थियो ।
 
प्रदर्शनीमा ६५  कक्ष भए पनि ६१ राखिएको थियो  । पाँच दिनसम्म सञ्चालन भएको  प्रदर्शनीमा १५ लाख रुपैयाँ बढीको कारोबार भएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिइन् । 
उनका अनुसार दैनिक रुपमा करिब ३ लाख रुपैयाँ आर्थिक कारोबार भएको छ । अध्यक्ष बस्नेतले भनिन्, ‘प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।’ 
प्रदर्शनीमा कर्णालीका जिल्लाबाट महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको महिला उद्यमी संघका केन्द्रीय सदस्य सरस्वती शर्माले बताए। 
उनका अनुसार गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले बजार पाएको छ । प्रदर्शनीस्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री अत्यधिक बिक्री भएको थियो ।
उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घले प्रदर्शनी कक्ष निःशुल्क रुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगञ्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको प्रदर्शनीका संयोजक रेवती सिंहले जानकारी दिए । 
यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको थियो । महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनी वर्षमा दुईपटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाको छ । 
महिला उद्यमी संघले स्थानीय महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि नेपालगञ्जमा कोसेली घर पनि सञ्चालन गरेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal