Skip to content
Prabhu

डाभोसमा निर्वाण चौधरीः जलवायु परिवर्तनले गर्दा नेपाललाई भएको समस्याको बारेमा गराए ध्यानाकर्षण

काठमाडौं ।  चौधरी गु्रपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेकाले यसतर्फ पहिलो विश्वको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । 

स्विट्जरल्याण्डको दाभोसमा सम्पन्न वर्ल्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले जलवायु परिवर्तनको नकारात्मक असर प्रतिदिन चुनौती बनिरहेको पृष्ठभुमिमा विश्वका मुलुकहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । 

जलवायु परिवर्तनको असरलाई न्युन गर्न विकसित मुलुकहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेण्डाका साथ सहकार्य गर्न पनि उनले सुझाव दिए । 

फोरम अन्तर्गतको  ‘अल्पाइन इकोनोमिज एट २सी’ सेसनमा बोल्दै युवा उद्यमी चौधरीले विश्वको औसत तापक्रममा वृद्धिको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेको हुँदा विश्वले जलवायु परिवर्तनलाई आजको मुख्य चुनौतीका रुपमा लिनुपर्नेमा पनि जोड दिए । 

‘जलवायु परिवर्तनको प्रभाव हामीले दिनहुँ भोगिरहेका छौँ । काठमाडौंमा हुर्किएको मैले केहि वर्ष पहिलेसम्म उपत्यकाको उत्तरी भागमा वर्षैभरि सेताम्मे हिउँको दृष्यावलोकन गर्न पाउँथे । तर, अहिले जब म उत्तरतर्फ फर्किर हेर्छु मेरा आँखा विझाउन थालेका छन् । मैले बाल्यकालमा देख्न पाएको हिउँ कम हुदै गएको छ । यसले मलाईं वेचैन बनाउँछ र भावी पुस्ताको भविष्य संझिएर चिन्तामा पार्ने गरेको छ ।’ चौधरीले विश्वको प्रतिष्ठित फोरममा  भने, ‘नेपाल जलवायु प्रभावको नराम्रो असरबाट गुज्रिन थालेको छ । हाम्रा हिमनदीको प्रवाह कम हुन थालेको छ । 

हिमाली क्षेत्रमा अत्यन्तै चिसो र तराई क्षेत्रमा अत्यन्तै गर्मीको असर भोग्न थालेका छौँ । भविष्यमा कृषी, जलविद्युत्का लागि आवस्यक जलप्रवाहको कमी हुने मात्रै होइन नयाँ पुस्ताले पिउने पानीको समेत समस्या भोग्नुपर्ला भन्ने चिन्ता बढेको छ ।’

विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक र सांस्कृतिक नेताहरू उपस्थित यस फोरमका विभिन्न प्यानलमा बोल्दै चौधरीले जलवायु संकट न्यूनिकरणमा अन्तर्राष्ट्रिय सस्थाहरूको भूमिका महत्वपुर्ण रहनेमा ध्यानकर्षण गराए ।  

यस्ता संस्थाहरुले पर्याप्त तथ्यांक,  ज्ञान, सूचना र सहयोग पाएमा जलवायु संकट न्युनिकरणमा प्रभावकारी ढंगले लाग्न सक्नेछन्  ।  यसका लागी हिमाली समुदायहरूमा केन्द्रित सबै पक्ष समेटिएको जलवायु समस्या समाधान प्लेटफर्म बनाउन आवस्यक छ । साथै, कर्पोरेट र परोपकारी संस्थाहरु मिलेर हिमाली समुदाय केन्द्रित दिगो परियोजनाहरू संचालनमा ल्याउन आवस्यक छ–उनले भने । 

उक्त फोरम अन्र्तगतका अल्पाईन इकोनोमिज एट प्लस २सी , क्लाइमेट एक्सन र फ्यूचर अफ म्यानुफेक्चरिङ गरि तीन ओटा प्रमुख सेसनमा प्रवन्ध निर्देशक चौधरीले सक्रिय सहभागीता जनाउदै धारणा राखेका थिए । 

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी वल्र्ड इकोनोमिक फोरममा सहभागी भएको करिव तीन दशकपछि उनका छोरा निर्वाण चौधरी उक्त फोरममा सहभागी भएका हुन् । अध्यक्ष विनोद चौधरी सन् १९९५ मा उक्त फोरममा सहभागी भएका हुन्। उनलाई ‘ग्वोबल लिडर फर टुमारो’को उपाधी दिइएको थियो । 

युवा उद्यमी निर्वाण चौधरीलाई नेपालमा नवप्रवर्तन र प्रगतिशील नेतृत्वका रुपमा लिने गरिन्छ । सन् २०२१ मा वल्र्ड इकोनोमिक फोरमले उनलाई ‘योङ ग्लोबल लिडर (वाईजीएल)’ का रुपमा मनोनित गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal