Skip to content
Prabhu

भरतपुर राजस्व कार्यालयद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि  १३ अर्ब छ करोड १४ लाख ६० हजार रुपैयाँ लक्ष्य तोकेकामा पुस मसान्तसम्म ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार रुपैयाँ संकलन भएको जनाएको छ ।

 

गत आवको यही अवधिमा ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार रुपैयाँ अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको थियो । सो वर्ष ६ महिनाका लागि  ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ १ अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

मूल्य अभिवृद्धि करतर्फ ८४ करोड ७ लाख ९ हजार रुपैयाँ, ब्याज कर  ५ करोड ७८ लाख ९९ हजार, घरबाहल कर १ करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर  ९३ लाख २५ हजार रुपैयाँ संकलन भएको भट्टराईले जानकारी दिए । उनका अनुसार अन्तःशुल्क संकलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व संकलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।

 

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व संकलनमा कमी देखिएको हो । भट्टराईले भने, अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व संकलनमा कमी आएको अनुमान गरिएको छ ।’ युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व संकलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal