Skip to content
Prabhu

अर्ब नाफा गर्ने बैंकको लाभांश मुद्दती निक्षेपको ब्याजदरभन्दा कम, राम्रा बैंकको लाभांश नै शून्य !

काठमाडौं । पाँच वर्षअघि सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले औसतमा लगानीकर्तालाई १८.६२ प्रतिशत लाभांश दिएका थिए । तर, अहिले वाणिज्य बैंकको संख्या २० मा झरेको छ । जसमा अहिलेसम्म लाभांश घोषणा गरेका बैंकले सेयरधनीलाई औसतमा ८.९५ प्रतिशत लाभांश दिएका छन् । र, यो बैंकहरूले गत आर्थिक वर्षमा मुद्दती निक्षेपमा दिएको ब्याजदरमा कम हो । गत आवमा बैंकहरू मुद्दती निक्षेपको ब्याजदर औसतमा १० प्रतिशतभन्दा बढी थियो ।

पाँच वर्ष अगाडि सबैभन्दा बढी ३५ प्रतिशत लाभांश दिएको एनएमबी बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिनै सकेन । गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिन नसकेको एनएमबी बैंक एक्लो होइन । विगतमा आकर्षक लाभांश दिनेमा गनिने बैंकहरू हिमालयन, प्राइमले लाभांश वितरण गर्न सकेनन् । विगतमा लाभांश दिनेमा नै चिनिने नेपाल बैंक र कुमारीले पनि लाभांश वितरण गर्न सकेनन् ।

चालु आर्थिक वर्ष सकिएको ६ महिनासम्म १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमध्ये पाँचवटा बैंकले लाभांश दिन नसक्ने घोषणा गरेका छन् । अहिलेसम्म लाभांश दिने वा नदिने निर्णय नलिएकामा नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र कृषि विकास बैंक छन् । लाभांश दिने वा नदिने घोषणा गर्न नसकेका बैंकका सञ्चालक समिति र सेयरधनीसँग कुरा गर्दा लाभांश आउने सम्भावना निकै कम छ ।

 

 

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी एनआईसी एसिया बैंकले ३०.५२ लाभांश प्रतिशत दिएको छ । तर, एनआईसी एसिया बैंकका लगानीकर्ताले पछिल्ला दुई वर्ष लाभांश पाएका थिएनन् । सबैभन्दा कम सिद्धार्थ बैंकले ४.२१ लाभांश प्रतिशत दिएको छ । विगतका वर्षमा सेयरधनीलाई राम्रो प्रतिफल दिने भनेर चिनिएका बैंकहरू नै शून्य लाभांशमा सीमित भएका छन् भने दिएकाको लाभांश पनि घट्दो क्रममा छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा हरेक वर्ष बैंकहरूको लाभांश घट्दो क्रममा छ । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १९.०७ प्रतिशत लाभांश पाएका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.२५ प्रतिशत औसत लाभांश दिएका थिए । तत्कालीन समयमा बैंकको संख्या २६ थियो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकहरूले औसतमा १४.९८ प्रतिशत लाभांश दिए भने २०७८/७९ मा बैंकका सेयरधनीले औसतमा ११.१९ प्रतिशत लाभांश पाए । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बेला बैंकको संख्या २० मा सीमित भएको छ भने लाभांशको दर पनि घट्दो छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)का अध्यक्ष उपेन्द्र पौडेल बैंकको लाभांश हरेक वर्ष घट्दो क्रममा रहेको बताउँछन् । ‘बैंकको बढेको पुँजीअनुसार नाफा बढ्न सकेको छैन’, पौडेलले भने, ‘पुँजीअनुसार नाफा नबढेपछि लाभांश स्वाभाविक रूपले घट्ने भयो ।’

बैंकको औसत लाभांश मुद्दती निक्षेपमा पाइने ब्याजदरभन्दा कम भए पनि बैंकहरूले अर्बै रुपैयाँ नाफा गरे भन्ने गलत भाष्य नीति निर्मातादेखि सर्वसाधारणलाई समेत परेको छ ।

उदाहरणका लागि पौडेल नै अध्यक्ष भएको नबिल बैंकको पुँजी, नाफा र प्रतिफललाई हेरौं । पाँच वर्ष अगाडि नबिल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष नबिल बढी लाभांश दिनेमा दोस्रो स्थानमा थियो ।

आर्थिक वर्ष २०७८/७९ को लाभांश दिने बेला नबिलले नेपाल बंगलादेश(एनबी) बैंकलाई गाभिसकेको थियो । उक्त वर्ष बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दियो । जुन वाणिज्य बैंकहरूका सबैभन्दा बढी थियो । तर, गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत मात्रै लाभांश दिएको छ । जबकि बैंकको चुक्ता पुँजी, जगेडा जोड्दा ‘इक्युटी’ ६० अर्ब रुपैयाँ पुगेको छ ।

नबिल बैंकका अध्यक्षसमेत रहेका पौडेल ६० अर्ब रुपैयाँको पुँजी लगाएर ५/७ अर्ब रुपैयाँ नाफा गर्नु निकै कम भएको बताउँछन् । तर, अर्बको ठूलो आकार देखाएर बढी चर्चा कमाउन खोजिएका उनको भनाइ छ ।

‘बैंकले कति रुपैयाँ लगानी गरेर कति कमाएको छभन्दा पनि ‘अर्ब’को आकारमा नाफाभन्दा बढी ध्यान केन्द्रित भयो’, पौडेलले थपे, ‘जसले गर्दा बैंकको नाफा अत्यधिक बढी छ भन्ने बुझाइ व्याप्त भयो ।’

पुँजीको आकार बढ्दै गएको तथा नियामकीय व्यवस्थाले बैंकलाई नियमित लाभांश दिन  कठिन हुने अवस्था आएको पौडेलको बुझाइ छ । प्राथमिक पुँजीकोष साढे ८ प्रतिशतभन्दा कम हुने बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगाउने गर्छ । सरकारले बजेटमार्फत र सर्वोच्च अदालतले समेत पुँजीमा कर लगाउने निर्णयले बैंकहरूको प्राथमिक पुँजीकोष थप कमजोर भएको छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइराला आर्थिक गतिविधि र क्रियाकलाप घटेसँगै बैंकको नाफा र लाभांश घट्दो क्रममा रहेको बताउँछन् । ‘विगतका वर्षमा दिएजस्तो बैंकहरूले अहिलेको अवस्थामा लाभांश दिन सम्भव छैन’, कोइरालाले लगानीन्यूजसँग भने, ‘जसले गर्दा पछिल्ला वर्षमा बैंकहरूको प्रतिफल घट्दो क्रममा छ ।’

सञ्चालनमा रहेका वाणिज्य बैंकमा आर्थिक वर्ष २०७८/७९ मा लाभांश नदिएका तीनवटा वाणिज्य बैंकले गत अर्थिक वर्षमा लाभांश दिएका थिए । जसमा लक्ष्मी सनराइज, माछापुच्छ्रे र एनआईसी एसिया छन् । यसबाहेक आव २०७८/७९ को तुलनामा लाभांश बढाएर दिने बैंकमा स्टान्डर्ड चार्टर्ड, सानिमा बैंक छन् । एभरेस्ट बैंकको नाफा थोरैले कम भएपछि आर्थिक वर्ष २०७८/७९ को जस्तै छ । तर, पाँच वर्ष अगाडिको तुलना गर्ने हो भने सबैजसो बैंक पुँजी बढे पनि लाभांश घटेको छ ।

‘बैंकिङ अनुशासन’ पुस्तकका लेखक तथा बैंकिङ विज्ञ बीएन घर्ती आफ्नो पुस्तकमा लेख्छन्, ‘बैंकहरूमा बढ्दै गएको प्रतिस्पर्धा, राष्ट्र बैंकले स्प्रेडमा लगाएको सीमा, सेवा शुल्कमा गरेको कटौती र उपलब्ध कोषलाई दिगो विकासमा योगदान पुग्ने गरी उचित प्रतिफल दिने क्षेत्रमा लगानी भएको छैन, जसले गर्दा बैंकहरूको प्रतिफल घट्दै गएको छ । तर, ऋणीहरूलाई भने बैंकहरुलेले अत्यधिक नाफा कमाएका छन् भन्ने भ्रम छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal