Skip to content
Prabhu

माछापुच्छ्रे बैंकले प्रदेशका तीन सरकारी विद्यालयलाई सहयोग गर्ने

 

काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका–६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

त्यसैगरी बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगरपालिका–४ लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ। 

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि बैंकले सो दुई सरकारी विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो। 

२ सय ८९ जना विद्यार्थी एवं १८ जना शिक्षकरकर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ।

१ हजार ८ सयभन्दा बढी विद्यार्थी र ३५ जना शिक्षकरकर्मचारी कार्यरत  शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुदाँ विद्यार्थी एवं शिक्षकहरूले समस्या भोगिरहनु परेको छ।

विद्यालयको पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्। सम्झौताबमोजिम बैंकले त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्ने छ। 

यसैगरी काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले सो स्कुलमा सभाहलको निर्माण गर्ने निणर्य गरेको हो। 

उक्त बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघ–संस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दीगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal