Skip to content
Prabhu

नेपालगञ्जका तीन विकास योजनाको काम सुरु

 

खजुरा ।  नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच सुरु गरिएको हो । 

यी दुवै सडक स्तरोन्नतिको स्थलगत अनुगमन गर्दै नगर प्रमुख प्रशान्त विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए ।  उनले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । 

फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख रुपैयाँ बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासँगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । 

नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । 

बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण सुरु


बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन उद्यानको सौन्दर्यकरण कार्य सुरु भएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख रुपैयाँ बजेटमा उद्यानको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताए। 

असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी व्यापारिक सटर डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न बालबालिका उद्यान बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङस्थलका रुपमा पनि छुट्टयाउने योजना छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal